फागुन, ११ । काठमाडौं । पोखराबाट काठमाडौं जाँदै गरेको यात्रुबाहक बस धादिङमा त्रिशूली नदीमा खस्दा १७ जनाको ज्यान गएको छ।
पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको ग १ ख १४२१ नम्बरको बस गएराति करिब साढे १ बजे धादिङ जिल्लाको बेनिघाट रोराङ्ग गाउँपालिका–५ भैंसिगौडास्थित पृथ्वी लोकमार्ग अन्तर्गत सडकबाट करिब ३ सय मिटर तल खस्दा दुर्घटना भएको हो।
प्रारम्भिक जानकारीअनुसार बसमा कम्तिमा ४६ जना यात्रु सवार रहेको अनुमान गरिएको छ। घटनास्थलमा रहेका सहायक प्रमुख जिल्ला अधिकारी मोहन प्रसाद न्यौपानेका अनुसार मृतकको संख्या १७ पुगेको छ भने अन्य यात्रुको खोज तथा उद्धार कार्य जारी छ।
उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली खटिएको छ। सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन बेस आदमघाटबाट डीएसपी नेतृत्वको टोली तथा विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गोताखोरसहितको टोली घटनास्थल पुगेको छ।
उद्धारकर्ताहरूले डुंगाको सहायताबाट यात्रुहरूलाई नदीकिनारमा ल्याई बगरमा जम्मा गर्ने र त्यहाँबाट एम्बुलेन्समार्फत अस्पताल पठाउने काम गरिरहेका छन्।
घाइते तथा मृतकको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारण भने अझै खुल्न सकेको छैन।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस