काठमाडौँ,१२ फागुन । राष्ट्रिय मानव अधिकार आयोगले चुनावमा बालबालिकाको प्रयोग नगर्न आग्रह गरेको छ ।
आयोगले राजनीतिक दल, नागरिक समाज, विद्यालय, शिक्षक तथा अभिभावकलाई उक्त आग्रह गरेको हो।
आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलद्वारा जारी विज्ञप्तिमा निर्वाचनलाई शान्तिपूर्ण, भयरहित र मानवअधिकारमैत्री वातावरणमा सम्पन्न गर्न सबै पक्षलाई धैर्य र संयमता अपनाउन आह्वान गरिएको छ।
शान्तिसुरक्षामा असर पार्ने गतिविधि बन्द गर्न, बालबालिकाको प्रयोग नगर्न/नगराउन र नागरिकको मानव अधिकारको सम्मान गर्न आयोगले नेपाल सरकारसहित सबै सम्बद्ध पक्षलाई अनुरोध गरेको छ।
निर्वाचन नजिकिँदै जाँदा विभिन्न स्थानमा देखिएका घटनाले शान्तिसुरक्षा र निर्वाचन वातावरणमा असर पार्न सक्ने भन्दै आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
दाङ, रौतहट र पर्सालगायत जिल्लामा दलका कार्यकर्ताबीच भएका विवाद र झडपका कारण कतिपय स्थानमा निषेधाज्ञा जारी गर्नुपर्ने अवस्था सिर्जना भएको उल्लेख गरिएको छ।
आयोगले देशव्यापी निर्वाचन अनुगमनलाई तीव्र बनाएको जनाएको छ। राजनीतिक दलका नेता, उम्मेदवार तथा कार्यकर्ताबाट हुने अमर्यादित र घृणायुक्त अभिव्यक्तिले निर्वाचन वातावरण अस्वस्थ बनाउन सक्ने खतरा रहेको भन्दै सामाजिक तथा सांस्कृतिक सद्भाव विथोलिने सामग्री प्रकाशन–प्रसारण नगर्न पनि आग्रह गरेको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस