after_navbar

बालिका बलात्कारपछि हत्या: दोषीलाई कडा कारबाहीको माग


२ घण्टा अगाडि


दाङ,२८ फागुन । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–४ स्थित सहिद उद्यानको जनजागरण सामुदायिक वनमा १६ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरिएको घटनामा संलग्न दोषीलाई कडा कारबाही गर्न माग गरिएको छ।

ad

सुर्खेतका विभिन्न सङ्घसंस्थाहरूले संयुक्त विज्ञप्ति जारी गर्दै घटनाले आफूहरूलाई स्तब्ध बनाएको जनाउँदै निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न माग गरेका छन्। वीरेन्द्रनगर–१ मा बस्दै आएकी १६ वर्षीया बालिकामाथि भएको घटना अमानवीय र निन्दनीय भएको भन्दै यसले सम्पूर्ण समाजलाई स्तब्ध बनाएको विज्ञप्तिमा उल्लेख गरिएको छ।

महिला तथा बालिकामाथि हुने यौन हिंसा कुनै पनि बहानामा सह्य नहुने उल्लेख गर्दै सुरक्षित र न्यायपूर्ण समाज निर्माणका लागि राज्य, नागरिक समाज र आम नागरिकको साझा प्रतिबद्धता आवश्यक रहेको बताइएको छ। साथै यौन हिंसा रोकथामका लागि प्रभावकारी सुरक्षा व्यवस्था, निगरानी र सचेतनामूलक कार्यक्रम सुदृढ गर्न पनि ध्यानाकर्षण गराइएको छ।


मानवअधिकार रक्षक सञ्जाल कर्णाली, इन्सेक, दलित गैरसरकारी संस्था महासङ्घ, नवज्योति केन्द्र, एड्भोकेसी फोरम, महिला मानवअधिकार रक्षक सञ्जाल, दलित सेवा सङ्घ, दलित महिला सङ्घ लगायतका संस्थाले संयुक्त रूपमा विज्ञप्तिमा हस्ताक्षर गर्दै घटनाको सत्यतथ्य छानबिन गरी पीडित परिवारलाई न्याय दिन माग गरेका छन्।

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल ले सामाजिक सञ्जालमार्फत पीडित परिवारलाई भेटेर घटनाको निष्पक्ष र कानुनी ढङ्गले छानबिन हुने र दोषीलाई कानुनअनुसार कारबाही गरिने विश्वास दिलाएका छन्।

जिल्ला प्रहरी कार्यालय सुर्खेत का सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मोहनजङ्ग बुढ्थापा का अनुसार पीडित पक्षले फागुन २४ गते दिएको उजुरीका आधारमा प्रहरीले वीरेन्द्रनगरबाट चार जनालाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ। पक्राउ परेकामाथि जबर्जस्ती करणी र कर्तव्य ज्यानसम्बन्धी मुद्दा चलाएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार हालसम्म परिवारले बालिकाको शव बुझेका छैनन्। शवपरीक्षणका लागि भेरी अस्पताल बाँकेका फरेन्सिक विशेषज्ञ डा अर्विन शाक्य को टोलीले प्रदेश अस्पताल सुर्खेतमा परीक्षण गरी प्रतिवेदन दिएको छ। प्रतिवेदनअनुसार जबर्जस्ती करणीका क्रममा मृतकको संवेदनशील अङ्ग च्यातिनुका साथै अत्यधिक रक्तस्राव हुँदा मृत्यु भएको उल्लेख गरिएको छ।

गुर्भाकोट नगरपालिका–६ बडाखोली स्थायी घर भई हाल वीरेन्द्रनगर–१ मा बस्दै आएकी १६ वर्षीया इनिशा उषा बालवाटिका स्कुल सुर्खेतमा कक्षा ११ मा अध्ययनरत थिइन्। परिवारका अनुसार उनी शनिबार बिहान ट्युसन पढ्न जाने भन्दै घरबाट निस्किएकी थिइन्। तर बिहान करिब ९ बजेतिर स्थानीयले उनलाई जनजागरण सामुदायिक वनमा अचेत अवस्थामा फेला पारेका थिए।

उनलाई प्रदेश अस्पताल सुर्खेत पुर्‍याए पनि चिकित्सकले मृत घोषणा गरेका थिए। मृतकका आफन्तले फागुन २५ गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="