काठमाडौ,३ चैत । पाकिस्तानले सोमबार राति अफगानिस्तानमा फेरि हवाई आक्रमण गरेको छ। स्थानीय सञ्चारमाध्यमका अनुसार पाकिस्तानी वायुसेनाका लडाकु विमानले राजधानी काबुलका विभिन्न क्षेत्रमा आक्रमण गरेका हुन्।
आक्रमणमा करिब ४०० जनाको मृत्यु भएको र २५० भन्दा बढी घाइते भएको बताइएको छ। दारुल अमान, अर्जन किमात, खैरखाना र काबुल अन्तर्राष्ट्रिय विमानस्थल आसपासका क्षेत्रमा विस्फोट र गोलीबारीको आवाज सुनिएको जनाइएको छ।
तालिबान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले पाकिस्तानी सेनाले काबुलको लागुऔषध पुनर्स्थापना अस्पतालमा बमबारी गरेको आरोप लगाएका छन्।
तालिबानले उक्त आक्रमणको कडा निन्दा गर्दै यसलाई मानवताविरुद्धको अपराध भनेको छ र पाकिस्तानले अफगान हवाई क्षेत्र उल्लङ्घन गरेको दाबी गरेको छ।
यता सहबाज सरिफका प्रवक्ता मोशरफ जैदीले आरोप निराधार भएको भन्दै काबुलको कुनै पनि अस्पतालमा आक्रमण नगरिएको बताएका छन्।
पाकिस्तानको सूचना मन्त्रालयले काबुल र नान्गारहारमा रहेका सैन्य अड्डा, प्राविधिक उपकरण डिपो र हतियार भण्डारलाई निसाना बनाइएको जनाएको छ। ती स्थानहरू पाकिस्तानी नागरिकविरुद्ध आक्रमणका लागि प्रयोग भइरहेका थिए भन्ने दाबी गरिएको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस