after_navbar

घोराहीमा क्यान्सर परामर्श शिविर सञ्चालन हुँदै


२ घण्टा अगाडि


दाङ, ९ चैत । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा क्यान्सर उपचार सेवा विस्तार गर्ने उद्देश्यले क्यान्सर परामर्श शिविर सञ्चालन हुने भएको छ। प्रतिष्ठान र बि.पि. कोइराला मेमोरियल क्यान्सर अस्पताल बीच घोराहीमा क्यान्सर उपचार सेवा सुरु गर्न गरिएको सहकार्य सम्झौताअनुसार उक्त शिविर आयोजना गर्न लागिएको हो।
आगामी चैत्र १३ गते प्रतिष्ठान परिसरमा सञ्चालन हुने शिविरमा विभिन्न प्रकारका क्यान्सरसँग सम्बन्धित समस्या भएका बिरामीहरूलाई लक्षित गरिएको छ। विशेषगरी केमोथेरापी (Chemo) लिइरहेका बिरामीहरू, डिम्बाशय, पाठेघर तथा पाठेघरको मुखको क्यान्सर भएका महिलाहरू, साथै महिनावारी सुकेपछि पनि योनिबाट रगत वा गन्हाउने पानी बग्ने समस्या भएका महिलाहरूलाई शिविरमा जाँच गराउन आग्रह गरिएको छ।

ad


त्यसैगरी मृगौला तथा पिसाब थैलीको क्यान्सर भएका बिरामीहरू वा पिसाबमा रगत देखिने समस्या भएका व्यक्तिहरू, साथै स्तनमा गाँठागुठी, स्तनबाट रगत वा पिप बग्ने समस्या भएका महिलाहरूलाई पनि उक्त शिविरमा सहभागी हुन अनुरोध गरिएको छ।
शिविरमा ओपीडी कार्ड तथा चिकित्सक परामर्श सेवा निःशुल्क उपलब्ध गराइनेछ भने आवश्यक प्रयोगशाला परीक्षण सेवा स–शुल्क हुने जानकारी दिइएको छ।
क्यान्सरजस्तो गम्भीर रोगको समयमै पहिचान र उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले आयोजना गरिएको यस शिविरबाट स्थानीय बिरामीहरू प्रत्यक्ष लाभान्वित हुने अपेक्षा गरिएको छ। शिविरमा सम्बन्धित सबैलाई समयमै उपस्थित भई सेवा लिन आग्रह समेत गरिएको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="