after_navbar

राजनीतिक नियुक्ति खारेज गर्ने तयारीमा बालेन नेतृत्वको सरकार


२ घण्टा अगाडि


दाङ,९ चैत । बालेन्द्र शाह नेतृत्वको सरकारले राज्यका विभिन्न निकायमा भएका १ हजार १ सय ७० वटा राजनीतिक नियुक्ति एकमुष्ट खारेज गर्ने तयारी गरेको छ।

ad

कर्मचारीतन्त्रमा सुधार गर्ने योजनासहित शाहले सरकार गठनपछि पहिलो निर्णयमै अघिल्लो सरकारले गरेका नियुक्ति हटाउने तयारी गरेका हुन्। राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता शाह चैत १३ गते प्रधानमन्त्री नियुक्त हुने र सोही दिन मन्त्रिमण्डल गठन गर्ने तयारी गरिएको छ।

संवैधानिक निकाय, सार्वजनिक संस्थान, कूटनीतिक नियोग तथा विभिन्न बोर्डहरूमा भएका राजनीतिक नियुक्ति हटाउने योजना अनुसार अहिले ती पदमा रहेका व्यक्तिहरूको विवरण संकलन भइरहेको छ।

रास्वपाका केन्द्रीय सदस्य तथा सांसद पुकार बमले नयाँ सरकार बनेपछि बस्ने मन्त्रिपरिषद्को पहिलो बैठकमै यसबारे निर्णय हुने बताए। “राजनीतिक नियुक्तिबारे क्याबिनेटको पहिलो बैठकमै औपचारिक निर्णय हुन्छ,” उनले भने।

पार्टीका प्रवक्ता मनिष झाले नयाँ सरकार गठनअघि नै त्यस्ता पदमा रहेका व्यक्तिहरूलाई नैतिकताका आधारमा स्वेच्छिक राजीनामा दिन आग्रह गरिएको बताए। उनले भने, “यो कुनै व्यक्ति लक्षित कदम होइन, राज्य संयन्त्रलाई कार्यकर्ता भर्ती केन्द्रबाट मुक्त गर्ने अभियान हो।”

उनका अनुसार कार्यकर्ता भरणपोषणका लागि गरिएका अनावश्यक नियुक्ति खारेज गरिनेछ भने क्षमता र योग्यताका आधारमा भएका नियुक्ति पुनरावलोकन गरिनेछ।

रास्वपाले हालसम्म कुन–कुन पद खारेज गर्ने भन्ने विस्तृत सूची सार्वजनिक गरेको छैन। यस विषयमा थप छलफल र गृहकार्य भइरहेको बताइएको छ।

जेनजी आन्दोलनपछि भएको चुनावमा बहुमत नजिकको समर्थन पाएको रास्वपाले सरकार गठनलगत्तै देखिने खालका काम गर्ने योजना बनाएको छ। राजनीतिक नियुक्ति खारेजीलाई प्राथमिक कार्यसूचीमा राखिएको छ।

नेपालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, लोक सेवा आयोग, निर्वाचन आयोग लगायत संवैधानिक निकाय तथा विभिन्न सरकारी संस्थानमा राजनीतिक आधारमा नियुक्त भएका पदाधिकारीहरू यस निर्णयबाट प्रभावित हुने देखिएको छ।

रास्वपाको दाबी अनुसार यस्तो कदमले राज्यकोषमा पर्ने ठूलो आर्थिक भार घटाउने विश्वास गरिएको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="