after_navbar

दाङमा चार सयबढी फरार प्रतिवादी पक्राउ


२ घण्टा अगाडि


दाङ,२५ चैत। अदालतको फैसला कार्यान्वयनमा दाङ प्रहरीले सक्रियता बढाएको छ । जिल्ला प्रहरी कार्यालय दाङले फरार प्रतिवादी पक्राउ अभियान सञ्चालन गरिरहेको छ ।

ad

प्रहरीका अनुसार विभिन्न मुद्दामा फैसला भई फरार रहेकाहरूलाई धमाधम पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख दीपक श्रेष्ठका अनुसार करिब आठ महिनामा चार सय बढी प्रतिवादी पक्राउ परेका छन् ।

चालु आर्थिक वर्षको साउनदेखि चैत दोस्रो सातासम्म ४१४ जना फरार प्रतिवादी पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकामाथि अदालतले ठूलो परिमाणमा जरिवाना र कैद सजाय तोकेको छ ।

उनीहरूबाट एक करोड २५ लाख १२ हजार ६ सय १७ रुपैयाँ जरिवाना र १६५ वर्ष ८ महिना ४ दिन कैद सजाय तोकिएको प्रहरीले जनाएको छ ।

फरार प्रतिवादी पक्राउ गर्न विशेष अभियान सञ्चालन गरिएको प्रहरी प्रमुख श्रेष्ठले बताए । सोही अभियानअन्तर्गत विभिन्न समयमा फैसला भएका मुद्दाका प्रतिवादी खोजी गरिएको हो ।

पक्राउ परेका सबैलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत घोराहीमा पेश गरिएको प्रहरीले जनाएको छ ।

महिनाअनुसार साउनमा २७, भदौमा ३५, असोजमा ५७, कात्तिकमा ३७, मङ्सिरमा ७३, पुसमा ८६, माघमा ५६, फागुनमा २९ र चैतको दोस्रो सातासम्म १४ जना पक्राउ परेका छन् । आगामी दिनमा पनि फरार प्रतिवादी पक्राउ अभियानलाई थप तीव्र बनाइने प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="