दाङ, १८ फागुन । तुलसीपुर उपमहानगरपालिका–३ राम्री क्षेत्रमा शनिबार बिहान मृत अवस्थामा फेला परेकी महिलाको पहिचान खुलेको छ। इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार मृतक सुर्खेतको लेखबेसी नगरपालिका–१० की ४० वर्षीया सीता पोख्रेल रहेको पुष्टि भएको छ।
प्रहरी निरीक्षक विनोद खत्रीका अनुसार मृतकका छोरा हेमराज पोख्रेलले फोनमार्फत सनाखत गरेका हुन्। उनले आमाको बारे थप जानकारी तुलसीपुर आएर दिने बताएका छन्।
तर, सीता पोख्रेल सुर्खेतबाट तुलसीपुर किन आएकी थिइन् र उनको मृत्यु कसरी भयो भन्ने विषय अझै रहस्यमय छ। घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
स्थानीयले राम्रीको भित्री सडक खण्डमा महिला लडेको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए। घटनास्थलमा मेडिकल कलेजको कार्ड र बैंकको डेबिट कार्ड भेटिएको थियो। मेडिकल कार्डमा वीरेन्द्रनगर नगरपालिका–१२ उल्लेख थियो, जसमा मृतकको नाम सीता पोख्रेल लेखिएको थियो।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस