काठमाडौ,९ कार्तिक । पछिल्लो अध्ययनले जलवायु परिवर्तनको तीव्र प्रभावका कारण हिन्दुकुश हिमालय क्षेत्रमा हिमताल विष्फोटन, हिमपहिरो र छिटो हिउँ पग्लने जोखिम क्रमिक रूपमा बढिरहेको देखाएको छ।
अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)ले हालै प्रकाशित गरेको ‘थामे उपत्यका हिमताल विष्फोटन बाढीको कारण, प्रभाव र भविष्यका जोखिम’ शीर्षकको अध्ययनअनुसार उक्त क्षेत्रमा हरेक दश वर्षमा औसत ०.२८ डिग्री सेल्सियसले तापक्रम बढिरहेको छ। अध्ययन इसिमोडका जोखिम विशेषज्ञहरू सुदनविकास महर्जन, तेन्जिङ छोग्याल शेर्पा र अरुणभक्त श्रेष्ठले गरेका हुन्।
अध्ययनले जलवायु परिवर्तनका कारण सगरमाथा क्षेत्रमा हिमनदीको पग्लिने दर पछिल्ला दशकमा पहिलेको तुलनामा ६५ प्रतिशतले बढेको जनाएको छ। यसले अमू दरिया, सिन्धु, गङ्गा, ब्रह्मपुत्र र इरावदी बेसिनमा रहेका २५ हजारभन्दा बढी हिमतालहरूलाई जोखिममा पारेको छ।
सोलुखुम्बुको थामे क्षेत्रमा गत वर्ष भएको हिमताल विस्फोटन बाढीबारे गरिएको अध्ययनमा भूगर्भीय र भूआकृतिक कारकहरूले बाढीको विनाशकारी शक्ति बढाएको उल्लेख छ।
इसिमोडका ‘रिमोट सेन्सिङ विश्लेषक’ सुदन विकास महर्जनका अनुसार हिन्दुकुश हिमालयका २५ हजारभन्दा बढी हिमतालमध्ये थामे जस्तो सानो तालले पनि ठूलो क्षति पुर्याउन सक्ने देखिएको छ। “थामे घट्नाले साना तालहरू पनि कति जोखिमपूर्ण हुन सक्छन् भन्ने बुझ्न सन्देश दिएको छ,” उनले भने।
अध्ययनले चार हजार नौ सय मिटर उचाइमा रहेको हिमतालमा ठूलो चट्टान खस्दा बाँध भत्किएर करिब १ लाख ५६ हजार घन मिटर पानी बाहिरिएको जनाएको छ। सो पानी तलको अर्को तालमा खस्दा २२ मिटर अग्लो र ५१ मिटर चौडा प्वाल बनेर थप ३ लाख ३ हजार घनमिटर पानी बाहिरिएको थियो।
दुवै तालबाट निस्किएको तीव्र बहावले ठूला ढुङ्गा र भग्नावशेषलाई करिब ८० किलोमिटर तलसम्म बगाएको थियो। बाढीले निजी घर, विद्यालय, स्वास्थ्य चौकी, पुल र एक जलविद्युत् आयोजना क्षति पुर्याएको थियो। घटना दिउँसो भएकाले मानवीय क्षति नभए पनि २५ घर नष्ट र १३५ जना विस्थापित भएका थिए।
नेपालमा सन् १९२० देखि अहिलेसम्म ९० भन्दा बढी हिमताल विस्फोटन भइसकेका छन्। केवल सगरमाथा क्षेत्रमा मात्रै पछिल्ला ५० वर्षमा पाँच ठूला घटना भएका छन्। यी हिमताल विस्फोटन बाढीहरू उच्च हिमाली क्षेत्रमा हुने सबैभन्दा विनाशकारी प्राकृतिक खतरा मानिन्छन्।
इसिमोडका हिम विश्लेषक तेन्जिङ छोग्याल शेर्पाले भने, “थामे बाढी एक कठोर सम्झना हो—जलवायुका चरम घटना कसरी तीव्र बन्दै गएका छन् भन्ने बुझ्न।”
त्यसैगरी, अध्ययनका सहलेखक तथा इसिमोडका वरिष्ठ सल्लाहकार अरुणभक्त श्रेष्ठले भने, “हिन्दुकुश हिमालय क्षेत्रमा तापक्रम वृद्धि विश्व औसतको झन्डै तीन गुणा छ, जसले हिमनदी र हिमतालहरूमा गम्भीर खतरा बढाइरहेको छ।”
उनले थपे, “अब यस क्षेत्रमा तत्काल वास्तविक सूचना प्रणाली सुदृढ गर्दै थप बाढी र मौसम पूर्वानुमान स्टेसन स्थापना गर्नु अत्यावश्यक छ। साथै, नदी किनार संरक्षण र इन्जिनियरिङ संरचनामार्फत सम्भावित क्षति घटाउन कदम चाल्नुपर्छ।”
थामे घटनाले हिमवत क्षेत्रका जोखिम र विपद् बुझ्न, र भविष्यका नीति तथा अनुकूलन रणनीति बनाउन महत्त्वपूर्ण पाठ दिएको अध्ययनमा उल्लेख छ। हालै सुरु गरिएको ‘बिल्डिङ एडप्टेसन एण्ड रेजिलिएन्स इन द हिन्दु कुश हिमालयज’ परियोजनाले पनि यस्ता विपद् र जोखिम घटाउने उपायमा ध्यान केन्द्रित गरेको इसिमोडले जनाएको छ।
तस्बिर:एसपिसिसी
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस