दाङ,९ पुस । दाङको तुलसीपुरमा मिनिट्रक र मोटरसाइकल आपसमा ठोक्किँदा एक जना व्यक्ति गम्भीर घाइते भएका छन् ।
घाइते हुनेमा तुलसीपुर उपमहानगरपालिका–४ रक्षाचौर निवासी ४४ वर्षीय नारायण शर्मा रहेको प्रहरीले जनाएको छ ।
घाइते शर्मालाई राप्ती प्रादेशिक अस्पताल, तुलसीपुरमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी होमबहादुर पराजुलीले जानकारी दिए ।
डीएसपी पराजुलीका अनुसार शर्माको टाउको, अनुहार तथा शरीरका विभिन्न भागमा चोट लागेको छ ।
प्रहरीका अनुसार सल्यानबाट तुलसीपुरतर्फ आउँदै गरेको रा १ ख ९८४ नम्बरको मिनिट्रक र तुलसीपुर–७ डाँडापातु क्षेत्रमा विपरीत दिशाबाट जाँदै गरेको लुम्बिनी प्रदेश ०२–००१–९०३५ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका हुन् ।
दुर्घटनामा संलग्न मिनिट्रक र त्यसका चालक तुलसीपुर उपमहानगरपालिका–९ बेलुवा निवासी ३२ वर्षीय भोजराज विकलाई प्रहरीले नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान सुरु गरेको जनाएको छ ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस