काठमाडौ,२१ पुस सुनसरीको इटहरीस्थित एनआईसी एसिया बैंकको शाखा कार्यालयभित्रै एक ऋणीले आत्मदाह प्रयास गरेका छन्। इटहरी–९ निवासी लालबहादुर पौडेलले बैंकभित्र आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाउने प्रयास गरेका हुन्।
प्रहरीका अनुसार पौडेल बोतलमा पेट्रोल बोकेर बैंक पुगेका थिए। उनले शरीरमा पेट्रोल छर्किन खोजेपछि बैंकका कर्मचारी र दुर्गा प्रसाईँ नेतृत्वको ‘नागरिक बचाउ अभियान’का सदस्यहरूले तत्काल हस्तक्षेप गरी उनलाई जोगाएका हुन्।
पौडेलले इटहरीस्थित आफ्नो जग्गा इटहरीकै व्यवसायी गंगाराम साह तेलीलाई धितोमा राख्न दिएको खुलेको छ।
झापामा मदिरा फ्याक्ट्री सञ्चालन गर्ने उद्देश्यका लागि साहले ब्याज दिने सहमतिमा पौडेलसँग धितो मागेका थिए। साढे २ करोड रुपैयाँमा जग्गा धितो राखेपछि साहले न ब्याज दिएको न त किस्ता नै तिरेको पौडेलको भनाइ छ।
जग्गा बैंकको लिलामी प्रक्रियामा पुगेपछि आफू अत्यन्त तनावमा परेको पौडेलले बताएका छन्। बैंकले बोलाएपछि उनी दुर्गा प्रसाईँका केही कार्यकर्ता लिएर बैंक पुगेको बुझिएको छ।
इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी सुवास हमालले बैंकभित्र आत्मदाहको प्रयास भएको पुष्टि गर्दै घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिए।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस