after_navbar

गोठमा आगलागी हुँदा ४५ भेडा मरे: भेडाधनी घाइते


माघ ०३, २०८२


काठमाडौं,२ माघ । भेडीगोठमा बिहीबार राति भएको आगलागी हुदा ४५ वटा भेडा मरेका छन्। आगलागीमा परी भेडाधनी घाइते भएका छन्।

ad

राति करिब ८ बजे कालिकोटको पलाता गाउँपालिका–३ निवासी ४९ वर्षीय कृष्णलाल रोकायाको भेडीगोठमा आगलागी भएको हो। रोकायाले गत मंसिरदेखि वनमा चराउन लगिएका भेडा स्थानीय कुम्भ बुढाको खरले छाएको गोठमा राख्दै आएका थिए।

माघे संक्रान्तिको राति खाना पकाउने क्रममा गोठमा आगलागी भएको र आगो निभाउने प्रयास गर्दा भेडाधनी रोकाया जलेर घाइते भएको कालीकोटका प्रहरी प्रमुख डिएसपी हिमबहादुर खत्रीले जानकारी दिए। उनका ५५ वटा भेडामध्ये ४५ वटा जलेर मरेका छन् भने १० वटा भेडा सामान्य घाइते भएका छन्।

डिएसपी खत्रीका अनुसार रोकायाका दुवै खुट्टा र ढाड जलेको भए पनि अवस्था खतरामुक्त छ। गाउँमै प्राथमिक उपचारपछि उनलाई धौलागोह स्वास्थ्य चौकी लगिएको छ। आगलागीका बेला साथमा रहेका उनका १९ वर्षीय छोरा धीरेन्द्र भने बाहिर निस्कन सफल भएकाले सकुशल छन्।

घटनाको जानकारी पाएपछि गोठबाट करिब तीन घण्टा टाढा रहेको कहरदेव अस्थायी प्रहरी चौकीबाट प्रहरी टोली र स्थानीय घटनास्थल पुगेका थिए। आगलागीमा लत्ताकपडा र खाद्यान्नसमेत जलेर नष्ट भएको प्रहरीले जनाएको छ।

अस्थायी प्रहरी पोष्ट कहरदेवबाट खटिएको टोलीले घटनास्थलको मुचुल्का उठाइरहेको डिएसपी खत्रीले बताए। घटनास्थल कालीकोटको सदरमुकाम मान्मबाट करिब २१ कोश टाढा पर्छ।

पलाता गाउँपालिका मुगुसँग सिमाना जोडिएको क्षेत्र हो। मान्मबाट घाटपारि चौरसम्म गाडीमा करिब ७ घण्टा यात्रा गर्नुपर्छ भने त्यसपछि थिर्पू, धौलागोह हुँदै खीन पुग्न थप करिब ६ घण्टा पैदल हिँड्नुपर्ने अवस्था रहेको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="