दाङ, ५ माघ । नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर–२ ले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भोली मंगलबार हुने उम्मेदवारी मनोनयन दर्ता कार्यक्रममा सहभागिता जनाउन सबैलाई आह्वान गरेको छ ।
क्षेत्र नम्बर–२ ले एक विज्ञप्ति जारी गर्दै कांग्रेसको तर्फबाट उम्मेदवारी मनोनयन दर्ता गरिने कार्यक्रममा सम्पूर्ण नेता, कार्यकर्ता र शुभेच्छुकलाई उपस्थित हुन अनुरोध गरेको हो । क्षेत्रीय सभापति भीमप्रकाश खड्काले जारी गरेको विज्ञप्तिअनुसार दिउँसो १२ः३० बजे घोराहीस्थित पार्टी कार्यालयमा उपस्थित हुन आग्रह गरिएको छ ।
विज्ञप्तिमा नेपाली कांग्रेसले लोकतन्त्र मजबुत बनाउने, संविधानको रक्षा गर्ने तथा राष्ट्रियता र जनअधिकार सुदृढ गर्ने जिम्मेवारी बोकेको उल्लेख गरिएको छ । साथै पार्टीको आन्तरिक एकता, संगठनात्मक सुदृढीकरण र नयाँ पुस्तालाई आकर्षित गर्ने कार्यमा कांग्रेस निरन्तर सक्रिय रहेको बताइएको छ ।
मनोनयन दर्ता प्रक्रिया केवल औपचारिक कार्यक्रम मात्र नभई पार्टीको शक्ति, मतदाताको समर्थन र सामूहिक प्रतिबद्धताको प्रतीक भएको उल्लेख गर्दै कार्यक्रममा सहभागिता जनाउन आग्रह गरिएको छ ।
कांग्रेसले जिल्ला कार्यसमिति, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, प्रतिनिधि सभा तथा प्रदेश सभा क्षेत्रीय कार्यसमिति, पालिका, वडा तथा टोल कार्यसमिति, भातृ तथा शुभेच्छुक संघ–संस्था, सम्पूर्ण नेता, कार्यकर्ता र मतदातालाई मनोनयन दर्ता कार्यक्रममा उपस्थित भई पार्टीलाई थप मजबुत बनाउन सहयोग गर्न अनुरोध गरेको छ ।

© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस