बाँके,८ माघ । बाँकेको सरकारी जग्गा मिलेमतोमा व्यक्तिका नाममा कायम गरिएको प्रकरणमा जिल्ला मालपोत कार्यालय बाँकेका तत्कालीन प्रमुख मालपोत अधिकृत ऋषिराम केसीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उक्त जग्गा हिनामिना प्रकरणमा तत्कालीन प्रमुख मालपोत अधिकृत केसी, मालपोत अधिकृत अशोककुमार भट्टराई, नायब सुब्बा ताराप्रसाद खनाल र कर्णबहादुर पुन, साविक बेतहनी गाविसका तत्कालीन सचिव मानबहादुर बोगटी, डुडुवा गाउँपालिकाकी लिलावती कैराती तथा वीरेन्द्रकुमार कुर्मीविरुद्ध बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।
अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार तत्कालीन प्रमुख मालपोत अधिकृत केसी, नासु खनाल र तत्कालीन गाविस सचिव बोगटीविरुद्ध समान २२ लाख ४२ हजार ७ सय २० रुपैयाँ बिगो कायम गरी कैद तथा जरिवानाको माग गरिएको छ। मालपोत अधिकृत भट्टराई र नासु पुनविरुद्ध समान २० लाख ८७ हजार २ सय ५९ रुपैयाँ, लिलावती कैरातीविरुद्ध २४ लाख ६७ हजार ७ सय २० रुपैयाँ र वीरेन्द्रकुमार कुर्मीविरुद्ध १८ लाख ६२ हजार २ सय ५९ रुपैयाँ बिगो मागदाबी लिइएको छ।
साविक बेतहनी गाविस–४ स्थित विभिन्न कित्ता जग्गासम्बन्धी मुद्दामा २०६७ सालमै अपुताली हक कायम नहुने भनी जिल्ला अदालतले फैसला गरेको थियो, जुन फैसला पुनरावेदन अदालत नेपालगन्ज र सर्वोच्च अदालतबाट समेत सदर भइसकेको थियो।
नजिकका हकवाला नदेखिएको अवस्थामा नेपाल सरकारका नाममा आउनुपर्ने जग्गा मालपोत कार्यालयका कर्मचारीको मिलेमतोमा व्यक्तिका नाममा दर्ता गरिएको अनुसन्धानबाट खुलेपछि अख्तियारले संलग्न सबैविरुद्ध मुद्दा दायर गरेको जनाएको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस