दाङ,११ माघ ।दाङ जिल्लामा कार्यरत एक जना प्रहरी जवान मृत अवस्थामा फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत घोराही उपमहानगरपालिका–२, रामपुर निवासी प्रहरी जवान हरी जिसी मृत फेला परेका हुन्।
प्रहरीका अनुसार जिसी माघ ८ गते बिहानको ड्युटी सकेर स्कुटी लिएर बाहिर निस्किएका थिए।
त्यसपछि उनी तीन दिनसम्म सम्पर्कविहीन बनेका थिए। खोजीका क्रममा उनको स्कुटी बाटोमा फेला परेको थियो। थप खोजतलास गर्दा घोराही उपमहानगरपालिका–१८ घोरडौराको जंगलमा उनी झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरीले जनाएको छ।
स्रोतका अनुसार मृतक जिसीका बुबा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा आईसीयूमा उपचाररत थिए। बुबाको उपचारका लागि बिदा माग्दा स्वीकृत नभएपछि उनी मानसिक तनावमा रहेको बताइएको छ। तर यसबारे प्रहरीले आधिकारिक पुष्टि गरेको छैन।
जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक (एसपी) दीपक श्रेष्ठले पोस्टमार्टम प्रक्रिया सम्पन्न भइसकेको जानकारी दिँदै मृतकको मोबाइल फोनको लक खुलेपछि घटनाको वास्तविक कारण खुल्ने बताएका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस