काठमाडौं,१७ माघ। नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनअघि पार्टीको १५औँ महाधिवेशन सम्पन्न हुने बताएका छन्।
शनिबार काठमाडौं–४ मा आयोजित निर्वाचन लक्षित कार्यक्रममा बोल्दै सभापति थापाले आगामी निर्वाचनमा पार्टीका उम्मेदवार ‘प्राइमरी इलेक्सन’मार्फत वडास्तरबाटै चयन गरिने जानकारी दिएका छन्।
उनले नयाँ स्थानीय तथा प्रदेश निर्वाचनभन्दा अघि पार्टीको महाधिवेशन सम्पन्न भइसकेको हुने उल्लेख गर्दै महाधिवेशनपछि उम्मेदवार चयनको प्रक्रिया पूर्ण रूपमा परिवर्तन हुने बताएका छन्। उनका अनुसार अब उम्मेदवारको टिकट वडास्तरका पार्टी सदस्यहरूले नै प्राइमरीमार्फत छनोट गर्नेछन्।
सभापति थापाले अब उम्मेदवार बन्नका लागि पार्टी सभापति वा महामन्त्रीको घर धाउनुपर्ने अवस्था नरहने दाबी गरेका छन्। उनले पार्टीभित्र पारदर्शी र विधिसम्मत प्रणाली लागू गरिएको बताएका छन्।
त्यसैगरी, कांग्रेसभित्र गुटबन्दी तथा ६०–४० को भागबण्डा अन्त्य भएको दाबी गर्दै उनले पार्टीभित्र अब कुनै प्रकारको भागबण्डा नरहेको स्पष्ट पारेका छन्। पार्टीले आन्तरिक र बाह्य रूपमा समान व्यवहारको नीति अवलम्बन गर्ने उनको भनाइ छ।
नागरिक र पार्टी सदस्यलाई सशक्त बनाउने अभियान पार्टीभित्र सुरु भइसकेको उल्लेख गर्दै सभापति थापाले पार्टी सभापतिको बन्द कोठामा हुने अप्राकृतिक सम्बन्धको संस्कृति अन्त्य भएको बताएका छन्। उनले बदलिएको कांग्रेसमा पारदर्शिता, समानता र विधिको शासन स्थापित भएको दाबी गरेका छन्।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस