काठमाडौँ,२८ माघ। नेपाल उद्योग परिसंघ र राष्ट्रिय तथ्याङ्क कार्यालयबीच राष्ट्रिय आर्थिक गणना २०८२ सञ्चालनका लागि सहकार्य गर्ने समझदारी भएको छ। दुवै पक्षबीच समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गर्दै अध्ययन तथा तथ्याङ्क विश्लेषणमा सहकार्य गर्ने सहमति गरिएको हो।
राष्ट्रिय तथ्याङ्क कार्यालयका उप–प्रमुख ढुण्डीराज लामिछानेले राष्ट्रिय आर्थिक गणना २०८२ मा निजी क्षेत्रका आशंका हटाउँदै तथ्याङ्क ऐन, २०७९ अनुसार संकलित विवरणको पूर्ण गोपनीयता कायम गरिने स्पष्ट पारे। उनले उद्योगी–व्यवसायीको विवरण सुरक्षाप्रति कार्यालय संवेदनशील रहेको उल्लेख गर्दै यो गणना करको दायरामा ल्याउन वा दण्डित गर्न नभई मुलुकको वास्तविक आर्थिक सूचक तयार गरी अनुसन्धान र नीति निर्माणमा सहयोग पुर्याउने उद्देश्यले गरिएको बताए।
उनले भने, “निजी क्षेत्रको सहभागिता बिना यो अभियान सफल हुन सक्दैन। त्यसैले परिसंघजस्ता संगठित संस्थासँग घनिष्ठ सहकार्य आवश्यक छ।”
कार्यालयका अनुसार राष्ट्रिय आर्थिक गणना २०८२ को मूल नारा ‘अर्थतन्त्र मापनका लागि आर्थिक गणना’ रहेको छ। कार्यालयका निर्देशक डा। वेदप्रसाद ढकालले प्रस्तुतिकरण गर्दै आर्थिक गणनाले अनौपचारिक अर्थतन्त्रको वास्तविक आकार पत्ता लगाउनुका साथै समग्र अर्थतन्त्रको यथार्थ चित्र प्रस्तुत गर्ने बताए।
परिसंघका महानिर्देशक डा। घनश्याम ओझाले निजी क्षेत्रको आर्थिक गतिविधिसम्बन्धी तथ्याङ्क संकलनमा परिसंघले नेतृत्वदायी भूमिका खेल्ने बताए। सही तथ्याङ्क उपलब्ध भए मात्र उद्योगी र सरकार दुवैलाई प्रभावकारी योजना बनाउन सहज हुने भएकाले निजी क्षेत्र यस प्रक्रियामा सक्रिय रूपमा जोडिनुपर्ने उनको भनाइ छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस