काठमाडौ,१९ कार्तिक । नेकपा (एमाले) बाट अलग भई चार वर्षअघि माधवकुमार नेपालको नेतृत्वमा बनेको नेकपा (एकीकृत समाजवादी) अन्ततः तीन टुक्रामा विभाजित भएको छ।
अध्यक्ष माधव नेपालसहितको बहुमत समूह माओवादी केन्द्रसहितका १० वाम घटकसँग एकीकृत भएर ‘नेपाली कम्युनिस्ट पार्टी’मा प्रवेश गरेको छ। यस समूहमा सम्मानित नेता झलनाथ खनाल, वरिष्ठ नेता बेदुराम भुसाल, प्रमेश हमाल, राजेन्द्र पाण्डे, प्रकाश ज्वाला, जगन्नाथ खतिवडा लगायतका नेताहरू सामेल छन्।
यस्तै, महासचिव घनश्याम भुसालले भने एकीकृत समाजवादीलाई पुनर्गठन गरी नयाँ क्रान्तिकारी पार्टी निर्माण गर्ने घोषणा गरेका छन्। भुसाललाई वरिष्ठ नेता घनेन्द्र बस्नेत, विजय पौडेल, जीवनराम श्रेष्ठ र दामोदर अर्याललगायत नेताहरूले साथ दिएका छन्। उनले आगामी मङ्सिरमा राष्ट्रिय सम्मेलन आयोजना गर्ने बताएका छन्।
तेस्रो पक्षमा नेतृ रामकुमारी झाँक्री छन्। उनले बुधबार पत्रकार सम्मेलन गर्दै एकीकृत समाजवादीसँगको आफ्नो राजनीतिक यात्रा समाप्त भएको घोषणा गरेकी छन्। झाँक्री समूह अहिले कुनै पनि पार्टीमा नजाने बताएको भए पनि एमालेमा फर्कने सम्भावना बढी रहेको संकेत दिइएको छ।
२०७८ सालमा माधव नेपाललाई साथ दिँदै एमाले विभाजनमा भूमिका खेलेकी झाँक्री अहिले पुनः एमालेमै फर्किने संकेतसहित चर्चामा छिन्।
यसरी, चार वर्षअघि एकताको नाममा बनेको नेकपा (एकीकृत समाजवादी) आज तीन धारमा विभाजित भएको छ
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,१८ कार्तिक। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीले महाधिवेशन नगरी चुनावमा जान नहुने बताएका छन्। उनले २२ भदौअघि र हालको राजनीतिक परिस्थिति फरक रहेको उल्लेख गर्दै नयाँ नेतृत्व चयन गरेर मात्र जनतामाझ जानुपर्ने आवश्यकता औंल्याए।
केन्द्रीय समितिको बैठकमा धारणा राख्दै महामन्त्री थापाले महाधिवेशन कांग्रेसलाई जनतासँग जोडिने मञ्च भएको बताउँदै भने, –“हामी आन्दोलनको अग्रपंक्तिमा हुने पार्टी हौं, तर अहिले आन्दोलन हाम्रो विरुद्धमा छ।”
उनका अनुसार अहिले कांग्रेस एक किसिमले सडकमा फ्यालिएको अवस्थामा पुगेको छ। “कार्यकर्ता र शुभेच्छुकको प्रश्न हामीप्रति छ। यी प्रश्नहरूको जवाफ नदिई अघि बढ्यौं भने मतदाताले मतदानकै माध्यमबाट हाम्रो उत्तर दिनेछन्,” थापाले चेतावनीस्वरूप भने।
थापाले मतदाताले कांग्रेसका उम्मेदवारहरू भोट माग्न आउँछन् भनेर कुर्दैनन् भन्दै पार्टीप्रतिको असन्तुष्टि समाधान गर्नुपर्नेमा जोड दिए। “जनता हामीलाई भोट दिन आतुर भएर बसेका छैनन्, पार्टीका कमिटीहरूले पनि पर्खेर बसेका छैनन्,” उनले स्पष्ट पारे।
जेनजी आन्दोलनलाई पूर्ण रूपमा प्रायोजित थियो भनेर छुट नपाउने उल्लेख गर्दै उनले पार्टीले आफ्ना गल्तीहरूबाट सिक्नुपर्ने बताए।
त्यस क्रममा थापाले सभापति शेरबहादुर देउवाले पार्टीलाई सच्याउने र पुनर्गठन गर्ने जिम्मा दिएर उपचारका लागि सिंगापुर गएको जानकारी पनि दिए।
देश अहिले तीन विकल्पको मोडमा रहेको बताउँदै थापाले भने, “देश हिंसाको दिशामा जान सक्छ, अहिलेको जस्तै अवस्थामा रहन सक्छ, वा जनभावनालाई समेटेर नयाँ दिशा दिन सक्छ। यीमध्ये तेस्रो विकल्प कांग्रेसले अगुवाइ गर्नुपर्छ।”
थापाले पार्टीले विगतमा आफैंले नेतृत्व नगरेका आन्दोलनहरूलाई पनि संस्थागत गर्दै आएको स्मरण गराउँदै निष्कर्षमा भने, “यो अनिश्चितताको घडीमा कांग्रेसले ‘हामी छौं, हामीले सम्हाल्छौं’ भन्ने आत्मविश्वास देखाउनैपर्छ।”
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,१७ कार्तिक । नेपाल कम्युनिष्ट पार्टी ९एमाले०को आगामी ११औं राष्ट्रिय महाधिवेशन काठमाडौमा हुने तय भएको छ । महाधिवेशनमा ४० वर्षमुनिका युवालाई पनि प्रतिनिधिका रूपमा सहभागी गराइने भएको छ।
देशभरबाट करिब २ हजार १०० जना प्रतिनिधि सहभागी हुने महाधिवेशनमा प्रत्येक प्रतिनिधिसभा क्षेत्रबाट चार जना प्रतिनिधि चयन गरिँदैछ, जसमा एक जना अनिवार्य रूपमा ४० वर्षमुनिका युवा हुने एमालेले जनाएको छ।
एमाले केन्द्रीय सङ्गठन विभागका प्रमुख काशीनाथ अधिकारीका अनुसार, चार प्रतिनिधिमध्ये दुई जना खुला, एक जना महिला र एक जना युवा हुने गरी चयन प्रक्रिया तय गरिएको हो।
पार्टीले एक प्रतिनिधिसभा क्षेत्रमा रहेका एक हजार २०० सदस्य बराबर चार जना प्रतिनिधि सहभागी हुन पाउने व्यवस्था गरेको छ। त्यस्तै, अनेरास्ववियु र युवासंघ नेपालबाट पनि पाँच–पाँच जना ४० वर्षमुनिका युवा प्रतिनिधि सहभागी हुने निश्चित गरिएको अधिकारीले बताए।
उनका अनुसार अन्य संगठन र कमिटीहरूबाट पनि प्रतिस्पर्धा गरेर महाधिवेशनमा सहभागी हुने अवसर खुला रहनेछ। साथै, महाधिवेशनमा कम्तीमा एकतिहाइ महिला प्रतिनिधि सुनिश्चित गरिएको पार्टीले जनाएको छ।
महाधिवेशनका लागि प्रतिनिधि चयन मङ्सिर १३ गते देशभर एकैदिन गरिनेछ भने ११औं राष्ट्रिय महाधिवेशन मङ्सिर २७ देखि २९ गतेसम्म काठमाडौँमा हुने तय गरिएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ, १६ कार्तिक। धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क साम्पाङ) नेतृत्वको ‘श्रम संस्कृति पार्टी’ निर्वाचन आयोगमा दर्ता भएको छ।
निर्वाचन आयोगले आइतबार साम्पाङको दल ‘श्रम संस्कृति पार्टी’ दर्ता गरी आधिकारिक प्रमाणपत्र प्रदान गरेको हो। साम्पाङ स्वयं आइतबार आयोग पुगेर प्रमाणपत्र ग्रहण गरेका छन्।
पार्टीको चुनाव चिन्ह ‘माटो’ तोकिएको छ। हाल पार्टीमा २८ जना केन्द्रीय सदस्य र पाँच जना पदाधिकारी तोकिएका छन्।
दलको पदाधिकारीहरूमा अध्यक्षमा हर्कराज राई (हर्क साम्पाङ), उपाध्यक्षमा देवराज लामा, महासचिवमा आर्यन राई ,कोषाध्यक्षमा समिता राई रहेका छन् । यसैगरी प्रवक्तामा अरुण गुरुङ रहेका छन् ।
साम्पाङले दसैँअघि, असोज १२ गते, निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएका थिए।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,१६ कार्तिक । माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीबीचको एकता घोषणा कार्तिक १९ गते हुने भएको छ। सुकेधारास्थित एक पार्टी प्यालेसमा बिहान ११ बजे आठ वामपन्थी दलबीच औपचारिक रूपमा एकता घोषणा गरिने भएको हो।
एकीकृत समाजवादीका वार्ता टोली सदस्य प्रकाश ज्वालाका अनुसार यसअघि सोमबार घोषणा गर्ने तयारी भए पनि प्राविधिक कारणले दुई दिन पछि सारिएको हो।
सहमति अनुसार नयाँ एकीकृत पार्टीको नाम ‘नेपाल कम्युनिष्ट पार्टी समाजवादी’ राखिनेछ। तर, चुनाव चिन्हबारे अझै टुंगो लागेको छैन।
एकता कार्यक्रममा माओवादी केन्द्र र एकीकृत समाजवादीसँगै विप्लव नेतृत्वको नेकपाबाट हालै अलग भएका चिरन पुन समूह, महिन्द्र राय यादव नेतृत्वको नेसपा, प्रेमबहादुर सिंह समूह, राजु कार्की नेतृत्वको नेकपा समाजवादी, र सुभाषराज काफ्ले नेतृत्वको जनसमाजवादी पार्टी पनि सहभागी हुने भएका छन्।
एकता घोषणापछि कात्तिक २० गते नयाँ एकीकृत पार्टीको पहिलो बैठक बस्ने तयारी छ। माओवादी केन्द्रले १८ गते विघटित केन्द्रीय कमिटी बैठक बोलाएको छ भने एकीकृत समाजवादीले पनि तयारी बैठक सम्पन्न गरिसकेको छ।
तर, पार्टी एकताबारे सबै पक्ष एकमत छैनन्। माओवादीका जनार्दन शर्मा र समाजवादीका झलनाथ खनाल तथा घनश्याम भुसालले एकता प्रक्रियामा असहमति जनाएका छन्। उनीहरू सम्भवत: एकतामा सहभागी नहुने जनाइएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,१४ कार्तिक । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई जेलमुक्त गरी उनकै नेतृत्वमा नयाँ वैकल्पिक शक्ति बनाउने आवश्यकता औँल्याएका छन्।
शुक्रबार रास्वपा द्वारा आयोजित ‘वृहत् राजनीतिक संवाद’ कार्यक्रममा बोल्दै उनले पुराना दलहरू: कांग्रेस र कम्युनिष्टलाई परास्त गर्न सबै नयाँ शक्तिहरू एक ठाउँमा उभिनुपर्ने बताए।
डा. भट्टराईले लामिछानेको नेतृत्व क्षमता र प्रतिभाको आवश्यकता रहेको भन्दै भने, -“रविजीलाई पनि निकालौँ कुनै तरिकाले, उहाँको एउटा नेतृत्वको पनि आवश्यकता छ। उहाँको जुन मुद्दा छ, त्यसलाई बाहिरै रहेर फेस गर्ने वातावरण बन्न सक्दाखेरि उहाँको क्षमता, प्रतिभाको प्रयोग हुन सक्थ्यो।” उनले भेदभाव महसुस गरी पनि लामिछानेको रिहाइको पक्षमा हस्ताक्षर गरेको स्मरण गराए।
उनले रास्वपा, रेशम चौधरी, सिके राउत लगायतका नयाँ शक्तिहरूलाई अहंकार त्यागेर एकै पार्टीमा आउन आग्रह गरे। दलीय नाम र पहुँचले जनतालाई ठगेको भन्दै दंगामुक्त, साँच्चै विकल्प दिने काम उनीहरू गर्नुपर्ने उनको भनाइ थियो।
डा. भट्टराईले पुराना दलहरूको जरा गहिरो रहेको भन्दै थपे, “कांग्रेस र कम्युनिष्ट भन्ने ती दुई धाराहरू सात वर्षदेखि बनेका हुन् र तिनको जरा तलसम्म झाँगिएको छ। अहिले हल्लिएको छ तर पूरै उखेलिएको छैन।” नयाँ र वैकल्पिक शक्ति एक ठाउँमा नआए पुराना शक्तिलाई परास्त गर्न गाह्रो हुने उनको तर्क थियो।
उनले रास्वपालाई लक्षित गर्दै भने: “तपाईंहरू अहिले स्थापित दलहरूमध्ये अलि ठूलो हुनुहुन्छ भनी एक्लै सकिन्छ भन्ने सोच गर्नु स्वाभाविक छ, तर सबै नयाँ शक्ति सँगै नभए पुराना शक्ति परास्त गर्न कठिन हुनेछ।”
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,१४ कार्तिक। संस्थापन र इतर पक्षबीच महाधिवेशनको मितिलाई लिएर विवाद बढेपछि नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठक स्थगित भएको छ। आज दिउँसो १ बजे बस्ने भनिएको बैठक सुरु हुन नपाई स्थगित गरिएको हो।
अर्को बैठक आइतबार दिउँसो १ बजेका लागि बोलाइएको छ।
सूत्रका अनुसार, कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सहमति नलिएरै महामन्त्री गगन थापाले मंसिरभित्र १५ औँ महाधिवेशन गर्ने गरी कार्यतालिका प्रस्तुत गर्ने तयारी गरिरहेका थिए।
महामन्त्री थापा र अर्का महामन्त्री विश्वप्रकाश शर्माले बिहान कार्यवाहक सभापति खड्कासँग भेटेर सहमति नपाए पनि कार्यतालिका प्रस्तुत गर्ने तयारी रहेको जानकारी दिएका थिए।
स्रोतले जनाएको छ, कार्यतालिका प्रस्तुत गर्न नदिए आफू बैठकमै सहभागी नहुने धम्की पनि दिइएको थियो। बैठकमा द्वन्द्व बढ्ने जोखिम देखिएपछि कार्यवाहक सभापति खड्काले थप समय लिएर बैठक स्थगित गर्ने निर्णय गरेका हुन्।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ, ११ कार्तिक । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको कम्युनिस्ट पार्टी नेपाल ले निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएको छ। आज दिउँसो प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को नेतृत्वमा आयोग पुगेको टोलीले पार्टी दर्ता प्रक्रिया औपचारिक रूपमा सुरु गरेको हो। पार्टीले ‘कम्युनिस्ट पार्टी नेपाल’ नाममा दर्ता गराउने प्रस्ताव गरेको छ। निवेदन बुझाएपछि प्रवक्ता प्रकाण्डले यो कदमले देशमा देखिएका विद्यमान समस्या समाधान र राजनीतिक परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।
उनले भने, “आज हामीले निर्वाचन आयोगमा पार्टी दर्ता गर्ने प्रक्रिया सुरु गरेका छौँ। यसले देशका समस्याको समाधान र नयाँ अवसरलाई वास्तविकतामा रूपान्तरण गर्ने दिशामा विशेष योगदान पुर्याउनेछ।”
काण्डका अनुसार निर्वाचन लोकतान्त्रिक अभ्यासको मूल आधार भएकाले पार्टी पनि यही विधि अनुसार जनताको निर्णय र सहभागितामार्फत अघि बढ्ने तयारीमा छ। उनले जनताको अधिकार, स्वनिर्णय र राजनीतिक सहभागितालाई सुनिश्चित गर्न निर्वाचनलाई सबैभन्दा प्रभावकारी माध्यमका रूपमा लिने बताएका छन्।
उनले थपे, “नेपालको राजनीतिमा जनताले अवरोधबिना प्रवेश र फैसला गर्न पाउने सबैभन्दा प्रजातान्त्रिक विधि निर्वाचन नै हो। त्यसैले हाम्रो पार्टीले पनि सोही विधि अपनाउँदै आयोगमा दर्ता गराउन लागेको हो।”
उनले हालैको जेन–जी आन्दोलनपछि बनेको सरकारले ठूला चुनौतीहरूको सामना गर्नुपर्ने भन्दै राष्ट्रिय राजनीतिमा नयाँ प्रकारको छलफल र विकल्प आवश्यक रहेको पनि उल्लेख गरे। यस क्रममा निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले कम्युनिस्ट पार्टी नेपाल नाममा दर्ता हुन आएको सम्भवतः यो पहिलो पार्टी भएको बताए।
उनले भने, “कम्युनिस्ट पार्टी नेपाल भनेर दर्ता हुन आएको सायद यो पहिलो पार्टी होला।” भण्डारीका अनुसार अहिलेको अवस्थामा निर्वाचनको व्यवस्थापन र कार्यान्वयन प्रक्रिया जटिल बनेको छ, त्यसैले आयोग उच्च सतर्कताका साथ काम गरिरहेको छ।
उनले चेतावनी दिए, “सानोभन्दा सानो कुराले पनि निर्वाचन विथोलिन सक्छ। त्यसैले हामी अहिलेको अवस्थामा अत्यन्त सावधानीपूर्वक निर्वाचन तयारीमा जुटिरहेका छौँ।”
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,३ कार्तिक । नेकपा (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरी गंगा दाहालले संयोजकको सचिवालयबाट राजीनामा दिएकी छन्।
गंगाले सोमबार सामाजिक सञ्जालमा स्टाटस लेख्दै राजीनामाको जानकारी गराएकी हुन्। उनले आफू पार्टीकी जिम्मेवार कार्यकर्ता भएर निरन्तर सक्रिय रहने बताएकी छन्।
उनका अनुसार पछिल्लो समय आफूलाई देखाएर बुबा प्रचण्ड र माओवादी केन्द्रविरुद्ध योजनाबद्ध रूपमा प्रहार भइरहेकाले सचिवालयको जिम्मेवारीबाट बाहिरिने निर्णय गरेकी हुन्।
गंगाले लेखेकी छन्, “निरन्तर मलाई देखाएर नेकपा (माओवादी केन्द्र)का संयोजक प्रचण्ड र समग्र पार्टीविरुद्ध योजनावद्ध प्रहार भइरहेका कारणले गर्दा मैले संयोजकको सचिवालयबाट राजीनामा दिएकी छु।”
उनले स्टाटसमा लेखेकी छन्, “भाइ प्रकाश दाहालको निधन र आमा सीता दाहाल बिरामी भएपछि पार्टी नेताहरूको सल्लाहमा म सचिवालयमा रहेर बुवालाई सहयोग गर्न आएको थिएँ। सधैं निस्वार्थ भावले काम गरेँ तर जति राम्रो गर्न खोजे पनि विवादमा तानिनुपर्यो।”
गंगाले केही संचार माध्यमहरूले आफूमाथि गरेको ‘कुप्रचार’ र ‘भ्रामक समाचार’प्रति असन्तुष्टि जनाउँदै लेखेकी छन्, “माथि निरन्तर प्रहार भइरहेछ। कहिले लाखौंको ब्याग भनेर, कहिले लाखौंको घडी भनेर लेखिन्छ, तर मसँग त्यस्ता वस्तुहरू नै छैनन्। साथीहरूले दिएको सानो उपहार पनि अब छैन, जलेर खरानी भइसकेको छ।”
उनले सचिवालयबाट बाहिरिए पनि पार्टीप्रति आफ्नो प्रतिबद्धता जारी रहने स्पष्ट पार्दै लेखेकी छन्, “पार्टीको जिम्मेवार कार्यकर्ता भएकाले आजीवन रूपमा पार्टीमा क्रियाशील रहनेछु।”
राजीनामा सँगै उनले सबै पार्टी नेता, कार्यकर्ता र नागरिकप्रति आभार प्रकट गर्दै दिपावली, छठ र नेपाल संवत् लगायतका पर्वको शुभकामना पनि दिएकी छन्।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,३ कार्तिक । निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि निवेदन दिने राजनीतिक समूहहरूको संख्या १७ पुगेको छ। आयोगका अनुसार सबै १७ दल दर्ताको प्रक्रियामा रहेका छन्।
निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार जेनजी आन्दोलन अघि १० वटा दलले दर्ताका लागि निवेदन दिएका थिए भने आन्दोलनपछि थप सात दलले निवेदन दिएका हुन्। उनका अनुसार ती सबै निवेदनहरू हाल आयोगको अध्ययनको क्रममा छन्।
हालसम्म आयोगमा दर्ता भएका दलहरूको संख्या १२४ पुगेको छ। यदि निवेदन दिएका सबै दल दर्ता भए, दलको संख्या अझ बढ्नेछ।
यसबीच दुई पार्टी फुटेर नयाँ दल बनेका छन् — जनमत पार्टी फुटेर जनस्वराज पार्टी दर्ता भएको छ भने नेपाल जनमुक्ति पार्टी फुटेर अर्को नयाँ दल दर्ता भएको आयोगले जनाएको छ।
आयोगका अनुसार केही दलको विधान स्पष्ट हुनुपर्ने, केहीको सनाखतका लागि आवश्यक सदस्य संख्या नपुगेको, र केहीको चुनाव चिन्ह सम्बन्धी समस्या रहेको कारण अध्ययन र संशोधन प्रक्रिया चलिरहेको छ।
आयोगले एक दललाई चुनाव चिन्ह परिवर्तन गर्न समेत सुझाव दिएको छ। ‘राष्ट्रिय जेनजी पार्टी नेपाल’ ले प्रस्ताव गरेको ‘क्रस खुकुरी’ चिन्ह फेर्न आयोगले आग्रह गरेको हो।
यस्तै, राष्ट्रिय परिवर्तन पार्टी पनि दर्ता प्रक्रियामा रहेको छ। सो पार्टीका अध्यक्ष अजयकुमार हुन् र चुनाव चिन्ह ‘बाँसुरी’ प्रस्ताव गरिएको छ।
त्यस्तै, नेपाल लिबरल पार्टी नामक दल पनि दर्ता प्रक्रियामा छ, जसका अध्यक्ष गोपीलाल न्यौपाने हुन् र यसको चुनाव चिन्ह ‘सिक्का’ प्रस्ताव गरिएको छ।
यसअघि नै नेपाल नागरिक पार्टी, उज्यालो नेपाल पार्टी, श्रम संस्कृति पार्टी, र गतिशील लोकतान्त्रिक पार्टी ले पनि दल दर्ताका लागि निवेदन दिएका थिए।
श्रम संस्कृति पार्टीका अध्यक्षमा धरानका मेयर हर्क साम्पाङ रहेका छन् भने गतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष दिनेश प्रसाईं हुन्।
निर्वाचन आयोगले सबै नयाँ दलको विवरण अध्ययन गर्ने कार्य जारी रहेको जनाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस