काठमाडौँ,१ कार्तिक । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी फागुन २१ गते हुने निर्वाचनलाई सफल बनाउन सबै पक्ष एकजुट हुनुपर्ने बताएका छन्।
दीपावली, नेपाल संवत् र छठ पर्वका अवसरमा अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुफ)ले आज पार्टी मुख्यालय पेरिसडाँडामा आयोजना गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा उनले अहिले देश जटिल परिस्थितिबाट गुज्रिरहेको बताउँदै राष्ट्रहितका लागि सबै राजनीतिक शक्ति, नागरिक समाज, बुद्धिजीवी र सञ्चारकर्मीको ऐक्यबद्धता अपरिहार्य रहेको उल्लेख गरे।
उनले भने, “संविधान र लोकतन्त्र जोगाउने सबैभन्दा सहज, समावेशी र राष्ट्रहितको विकल्प भनेकै आगामी फागुन २१ गतेको निर्वाचन हो। त्यसलाई सफल पार्न सबै पक्षले साझा प्रतिबद्धता जनाउनुपर्छ।”
पूर्वप्रधानमन्त्री दाहालले अन्तरिम सरकार तोकिएको मितिमा नै निर्वाचन गराउन गम्भीर रहेको बताउँदै अन्तर्राष्ट्रिय समुदायले पनि निर्वाचन सफल बनाउन सहयोग गर्ने विश्वास व्यक्त गरे।
जेनजी आन्दोलनका माग सम्बोधन गर्न संविधान संशोधन आवश्यक रहेको बताउँदै उनले भने, “निर्वाचनबाट आउने नयाँ संसद्ले संविधान परिमार्जनको प्रक्रिया अगाडि बढाउनेछ, जनताको अपेक्षा पूरा गर्न हामी तयार छौँ।”
उनका अनुसार आसन्न निर्वाचन संविधानसम्मत र लोकतान्त्रिक प्रक्रियाको हिस्सा भएकाले राष्ट्रिय सहमतिका साथ चुनाव सम्पन्न गर्नु मुलुकको आवश्यकता हो।
समाजवादी मोर्चामा आबद्ध वाम शक्तिबीच चाँडै औपचारिक एकता घोषणा हुने जानकारी दिँदै दाहालले लोकतन्त्रवादी र राष्ट्रवादी शक्तिहरू पनि एउटै मोर्चामा आउनुपर्ने बताए। उनले जेनजी आन्दोलनलाई क्रान्तिकारी आन्दोलनको उत्तराधिकारी भन्दै भने, “भदौ २३ गतेको आन्दोलनले युवा पुस्ताले आफ्नो राजनीतिक उपस्थितिको प्रमाण प्रस्तुत गरिसकेको छ, उनीहरू अरूका होइनन्, क्रान्तिकारीका उत्तराधिकारी हुन्।”
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं,१ कार्तिक । जेनजी आन्दोलनका अगुवा मिराज ढुंगानाले नयाँ राजनीतिक दल गठन गरेको घोषणा गरेका छन्। उनले शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पार्टी स्थापना गरिएको जानकारी दिए।
ढुंगानाले भने, “हामी चुनावमा जानका लागि होइन, देश विकासका लागि पार्टी गठन गरेका हौं। भिडले देश विकास हुँदैन, अब या त एनजिओ खोल्नुपर्छ वा पार्टी नै खोल्नुको विकल्प छैन। यो आन्दोलनलाई अधुरो छाड्न सकिँदैन।”
उनले जेनजी आन्दोलनमा संलग्न सबैलाई एकजुट हुन आह्वान गर्दै भने, “हाम्रो ‘बटमलाइन’ पूरा नभएसम्म हामी चुनावमा सहभागी हुँदैनौं।”
ढुंगानाका अनुसार प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली नै उनीहरूको प्रमुख एजेन्डा हो। “हामी चुनावमा भन्दा पनि सङ्गठित रूपमा अघि बढ्नका लागि पार्टी खोलेका हौं,” उनले स्पष्ट पारे।
त्यस्तै, उनले विदेशमा रहेका नेपालीलाई मतदान अधिकार सुनिश्चित गर्नुपर्ने र भ्रष्टाचार अन्त्यका लागि नागरिक स्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग पनि राखेका छन्।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं,३१ असोज । जेनजी आन्दोलनका युवा नेता मिराज ढुंगानाले नयाँ राजनीतिक दल गठन गर्न लागेको घोषणा गरेका छन्। उनले भोलि (शनिबार) दिउँसो १ बजे काठमाडौंको एभरेष्ट होटलमा पत्रकार सम्मेलनमार्फत दलको औपचारिक घोषणा गर्ने जानकारी दिएका छन्।
ढुंगानाले नयाँ दलले प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको व्यवस्था र विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार सुनिश्चित गर्नेजस्ता एजेन्डालाई प्राथमिकतामा राख्ने बताएका छन्।
सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको भिडियो सन्देशमा उनले भनेका छन्, “राजनीतिक दल खोल्नुको अर्थ अहिलेको अवस्थामै निर्वाचनमा जानु होइन। जबसम्म हाम्रो बटमलाइन — प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री, विदेशमा रहेका नेपालीले भोट दिने अधिकार सुनिश्चित र भ्रष्टाचार नियन्त्रणका लागि नागरिक तहको निकाय — पूरा हुँदैन, तबसम्म हामी निर्वाचनमा जाने छैनौँ।”
उनले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनलाई परिवर्तनको सुरुवात भन्दै अझै शान्तिपूर्ण रूपमा लडिरहने प्रतिबद्धता जनाएका छन्। “यो आन्दोलन देशको मुहार फेर्ने अभियान हो। यो पटक हामी फर्किएर धेरै समयसम्म नआउनेछौँ। देशको विकास चाहनेहरूलाई हाम्रो साथमा आउन आग्रह गर्दछु,” ढुंगानाले भनेका छन्।
उनका अनुसार, देश अहिले गम्भीर अवस्थाबाट गुज्रिरहेको छ। “७८ जना नेपालीले ज्यान गुमाएका छन्। देशले निकास खोजिरहेको छ र त्यस निकास दिन हामी आफूलाई जिम्मेवार ठान्छौँ। निकास दिलाएरै छोड्नेछौँ,” उनले भनेका छन्।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं,३० असोज । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको नेतृत्वमा केन्द्रीय समिति बैठक सुरु भएको छ।
सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बिहीबार दिउँसोदेखि बैठक सुरु भएको हो।
गत असोज २८ गतेको बैठकमा सभापति शेरबहादुर देउवाले खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका थिए।
त्यसपछि खड्काको अध्यक्षतामा आज पहिलो पटक केन्द्रीय समिति बैठक बसेको हो।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं,३० असोज । नेकपा एमालेको केन्द्रीय कमिटीको दोस्रो दिनको बैठक ललितपुरको जावलाखेलस्थित रामबाघ महलमा सुरु भएको छ। बिहान ८ बजे सुरु गर्ने भनिए पनि बैठक केही ढिला गरी सुरु गरिएको हो।
आजको बैठकमा पनि केन्द्रीय सदस्यहरूले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रस्तावमा आफ्ना धारणा राख्ने क्रम जारी रहेको एमालेले जनाएको छ।
बुधबारको पहिलो दिनको बैठकमा ५० जना केन्द्रीय सदस्यहरूले धारणा राखेका थिए। आज बाँकी सदस्यहरूले आफ्ना विचार राख्ने क्रम जारी छ। करिब एक सय जनाले बोल्ने अनुमान गरिएकोले बैठक भोलि शुक्रबार सकिने भनिए पनि सबैले बोल्न चाहेकाले बैठक लम्बिने सम्भावना रहेको एमाले नेताहरूले बताएका छन्।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं,२९ असोज । नेपाली कांग्रेसका २४ सय ८८ महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन आह्वान गर्न माग गर्दै कार्यबाहक सभापति पूर्णबहादुर खड्कालाई हस्ताक्षर बुझाएका छन्।
देशभरबाट संकलित हस्ताक्षर कांग्रेस नेता गुरु घिमिरेले खड्कालाई बुझाएका हुन्। उनका अनुसार यो संख्या १४औं महाधिवेशनका कुल प्रतिनिधिको करिब ५३ प्रतिशत हो।
पार्टी केन्द्रीय कार्यालय सानेपामा हस्ताक्षर बुझाउँदै घिमिरेले अहिलेको विषम परिस्थितिमा पार्टीलाई नयाँ दिशा दिन विशेष महाधिवेशन आवश्यक रहेको बताए। उनले यो पहल पार्टीभित्र विवाद होइन, स्वर्गीय नेता सुवर्णशम्शेर राणाले अपनाएको असल अभ्यासलाई पुनःस्थापित गर्ने उद्देश्यले गरिएको स्पष्ट पारे।
जेन–जी आन्दोलनपछि विकसित परिस्थितिले पार्टीमा आमूल नेतृत्व परिवर्तनको माग बढेको भन्दै नेताहरूले विशेष महाधिवेशनका लागि हस्ताक्षर अभियान चलाएका थिए।
पार्टी महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा पनि नियमित समयमा महाधिवेशन सम्भव नभए विशेष महाधिवेशनमा जानुपर्ने पक्षमा रहेका छन्।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं,२९ असोज । नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देश माओवादी केन्द्रको एजेण्डामै अघि बढ्ने विश्वास व्यक्त गरेका छन्।
धादिङको थाक्रे गाउँपालिकास्थित महादेवेसीमा आयोजित पार्टी गाउँपालिकाको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले माओवादी केन्द्रले देशको नेतृत्व लिनुपर्ने बताएका हुन्।
उनले देश संकटपूर्ण परिस्थितिबाट गुज्रिरहेको बताउँदै भने, “यस्तो अवस्थामा माओवादी केन्द्र दृढतापूर्वक संविधान, गणतन्त्र र जनताको पक्षमा उभिएको छ।”
प्रचण्डले जेन–जी आन्दोलन सुरु हुनु अघि नै माओवादी केन्द्रले उनीहरूको मागलाई समर्थन गरेको उल्लेख गर्दै भने, “जेन–जी आन्दोलनलाई समर्थन मात्र होइन, उनीहरूको असली प्रतिनिधि पार्टी माओवादी केन्द्र हो भन्ने प्रमाणित भएको छ।”
सरकारमा बस्ने बेला जेन–जीमाथि दमन गर्ने र सडकमा उनीहरूको मागलाई सम्बोधन गर्नुपर्ने कुरा गर्ने दल एउटै नभएको प्रष्ट पार्दै उनले भने, “हामी उनीहरूजस्ता होइनौं। माओवादी केन्द्रले गरेका काम हेर्ने हो भने जेन–जीहरूको असली नेतृत्व र पार्टी माओवादी केन्द्र नै हो।”
उनले आगामी निर्वाचनबारे उत्पन्न आशंकालाई अस्वीकार गर्दै भने, “निर्वाचन हुँदैन कि भनेर द्विविधामा बस्नु हुँदैन। निर्वाचन घोषणा भइसकेको छ, अब हाम्रो पार्टी त्यसका लागि तयारीमा लाग्नुपर्छ।”
त्यसैगरी, पाँच वटा पार्टीसँग चाँडै एकता प्रक्रिया अघि बढ्ने संकेत दिंदै प्रचण्डले पार्टीको केन्द्रीय समिति बैठकले जेन–जीका मागअनुसार नेतृत्व तहमा युवालाई ल्याउने नीतिगत निर्णय गरिसकेको जानकारी दिए। उनले पार्टीलाई समयअनुसार पुनर्संरचना गर्दै लैजाने प्रतिबद्धता पनि जनाए।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,२८ असोज । जेनजी आन्दोलनका क्रममा भदौ २४ गते सांघातिक हमलाबाट घाइते भएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा ३५ दिनपछि मंगलबार सार्वजनिक भएका छन्।
देउवा आज पार्टीको केन्द्रीय समिति बैठकमा सहभागी हुन सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालय पुगेका हुन्। उनीसँगै पत्नी तथा केन्द्रीय सदस्य डा। आरजु राणा देउवा पनि बैठकमा उपस्थित थिइन्।
भदौ २४ गते बुढानीलकण्ठस्थित निजी निवासमै रहेका बेला प्रदर्शनकारीहरूले घरमा आक्रमण गरी देउवा दम्पतीमाथि सांघातिक हमला गरेका थिए। सार्वजनिक भएका भिडिओ र तस्वीरहरूमा दुवैजना रगताम्य अवस्थामा देखिएका थिए।
उपचारका क्रममा देउवाको गर्धनमा धारिलो हतियार प्रहारबाट गहिरो घाउ लागेको र त्यसमा १२ वटा टाँका लगाइएको बताइएको छ। लामो उपचारपछि उनी आज मात्र सार्वजनिक भएका हुन्।
यद्यपि उनको स्वास्थ्य पूर्ण रूपमा सुधार नआएको परिवारस्रोतले जनाएको छ। पार्टी नेताहरूका अनुसार आजको बैठक उद्घाटन गरी आफ्ना विचार राखेपछि देउवा फेरि आरामका लागि फर्किनेछन्।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ,२८ असोज । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आज विश्वासको मत लिँदैछन्। विश्वासको मतप्रक्रियामा तीन दल जनता समाजवादी पार्टी (जसपा) नेपाल, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) तटस्थ बस्ने भएका छन्।
मुख्यमन्त्री सिंहलाई पहिले दिएको समर्थन सबै दलले फिर्ता लिएपछि उनले विश्वासको मत लिन लागेको हुन्। यसअघि नै विपक्षमा रहेका माओवादी केन्द्र, जसपा नेपाल र एकीकृत समाजवादीले आजको मतप्रक्रियामा नत समर्थन गर्ने नत विरोध गर्ने, बरु तटस्थ रहने निर्णय गरेका हुन्।
माओवादी केन्द्रका सांसद युवराज भट्टराईले विश्वासको मतप्रति आफ्नो दल तटस्थ रहने बताए। त्यस्तै, जसपा नेपालका प्रमुख सचेतक रामअशिष यादवले पनि “न पक्षमा, न विपक्षमा, हामी तटस्थ बस्नेछौं,” भनेर स्पष्ट पारे।
यसअघि जसपा नेपालबाट मुख्यमन्त्री बनेका सरोजकुमार यादवले विश्वासको मत नपाएपछि प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा ९९० अनुसार नयाँ सरकार गठनको प्रक्रिया अघि बढाएका थिए। त्यसैअन्तर्गत सिंह मुख्यमन्त्री बनेका हुन्।
तर अहिले सिंहले प्रतिनिधित्व गर्ने जनमत पार्टीसहित नेपाली कांग्रेस, नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी नेपालले समर्थन फिर्ता लिएपछि उनी विश्वासको मतका लागि प्रदेशसभामा उपस्थित भएका हुन्।
विश्वासको मतका लागि दिउँसो १ बजे बैठक बोलाइएको भए पनि कार्यवाही केही ढिलो सुरु भएको छ। मुख्यमन्त्री सिंह प्रदेशसभामा आइसकेका छन् भने सांसदहरूको उपस्थित हुने क्रम जारी छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं,२६ असोज । नेपाली कांग्रेसका पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठक आज पनि बस्दैछ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजेदेखि बैठक सुरु हुने तय गरिएको छ।
गएको बिहीबारदेखि लगातार बस्दै आएको पदाधिकारी बैठकले यही असोज २६ गतेदेखि सुरु हुने कांग्रेस केन्द्रीय कार्यसमिति बैठकका एजेन्डा टुंग्याउने तयारी गरेको छ।
महाधिवेशन निर्धारित समयमा गर्ने कि अर्ली अधिवेशन गर्ने भन्ने विषयमा कांग्रेस नेताहरूबीच मतभेद देखिएको छ। आजको बैठकमा यसबारे समान धारणा बनाउन प्रयास भइरहेकाले बैठक महत्वपूर्ण मानिएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस