रुकुम पश्चिम, ६ असार। रुकुम पश्चिममा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । छजना घाइते भएका छन् । बिहीबार बिहान चौरजहारी नगरपालिका–१२ को साना खोलास्थित भित्री सडक खण्डमा कुलो निर्माणको लागि ढुँगा बोकेर जाँदै गरेको कर्णाली प्रदेश ०३–००१ त ०००१ नम्बरको ट्रयाक्टर ब्रेक फेल भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा परी घाइते भएकामध्ये एकजनाको उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा चौरजहारी नगरपालिका–१२ का २५ वर्षीय गोपाल खत्री रहेका छन् । उनको मिसन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
यसैगरी, दुर्घटनामा परी चौरजहारी नगरपालिका–११ का ९ वर्षीय डिल्ली डाँगी, चौरजहारी–१२ का ४३ वर्षीय बलु जैसी, १२ वर्षीया कल्पना वली, ४३ वर्षीय शरद शर्मा, चौरजहारी–५ का २३ वर्षीय चालक लक्ष्मण कुमाइ र २० वर्षीय विकास कुमाइ घाइते भएका छन्।
घाइते मध्य ९ वर्षीय डिल्ली डाँगी र चालक लक्ष्मण कुमाइको अवस्था सामान्य रहेको छ। अन्य सबै घाइतेको अवस्था गम्भीर रहेकोप्रहरीले बताएको छ । अन्य घाइतेको मिसन अस्पताल चौरजहारीमा उपचार जारी छ। ट्याक्टर सडकदेखि झन्डै ८० मिटर तल खसेको थियो ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस