दाङ,९ चैत । शिकार खेल्न गएका बेला बेपत्ता भएका ३३ वर्षीय टोपबहादुर खत्रीको शव १७ दिनपछि फेला परेको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक सुधीरराज शाहीले बाँके र सुर्खेत प्रहरी तथा निकुञ्जको संयुक्त टोलीले शव फेला पारेको बताए। शव फेला परेको स्थान बर्दिया जिल्लाभित्र पर्छ।
गत २३ फागुनमा बराहताल गाउँपालिका–१का पाँच जना र लेकबेँसी नगरपालिका–८का एक जना गरी ६ जना सिकारका लागि निकुञ्ज प्रवेश गरेका थिए।
उनीहरू भरुवा बन्दुक तथा घरेलु हातहतियारसहित झण्डै १७ किलोमिटर दूरी पार गरेर जंगल पुगेका थिए।
सिकारमा गएका अन्य सदस्यहरू भने सोही दिन घर फर्किए, तर टोपबहादुर खत्री फर्केनन्।
घर फर्किएकाहरूले उनी जंगलमै मरेको बताएका थिए, तर मृत्युको कारण खुलाएका थिएनन्। घटनापछि उनीहरू भारततर्फ भागेको बताइएको छ। यो घटना १० दिनपछि मात्रै सार्वजनिक भएको थियो।
सिकारमा गएका समूहका एक सदस्यका परिवारमार्फत जानकारी बाहिरिएपछि रानीघाट प्रहरी चौकीमा खबर पुगेको र त्यसपछि घटनाको अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस