काठमाडौ,१४ साउन । सुनसरीको दक्षिणी क्षेत्रमा दुई समुदायबीचको असमझदारीका कारण उत्पन्न तनाव क्रमशः कम हुँदै जनजीवन सामान्य बन्दै गएको छ।
गत आइतबार रातिदेखि सुरु भएको तनाव मंगलबार रातिसम्म झडपको अवस्थासम्म पुगे पनि बुधबारदेखि अवस्था सुधारोन्मुख देखिएको हो। यद्यपि स्थानीय प्रशासनले कफ्र्यू आदेश भने यथावत् राखेको छ।
देवानगञ्जको कप्तानगञ्जमा भएको घटनापछि उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै जिल्लाका राजनीतिक दल, जनप्रतिनिधि, नागरिक समाज तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूले शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न ५ बुँदे संयुक्त प्रतिबद्धता सार्वजनिक गरेका छन्।
उक्त प्रतिबद्धतामा साम्प्रदायिक विवाद, हिंसा र हुलदङ्गाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यस्ता गतिविधि रोक्न सबै पक्ष सक्रिय हुनुपर्ने उल्लेख गरिएको छ। आक्रोश र प्रतिशोधभन्दा संयम, विवेक र संवादमार्फत समस्या समाधान गर्नुपर्नेमा जोड दिइएको छ।
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री नफैलाउन, आधिकारिक सूचनामात्र विश्वास गर्न र अफवाहको पछि नलाग्न सबैलाई आग्रह गरिएको छ।
यसैबीच, कोशी प्रदेश सरकारले घटनामा ज्यान गुमाउनेका परिवार र घाइतेहरूलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ।
प्रतिक्रिया दिनुहोस