after_navbar

दमकल खरिदमा बजेट अभाव होइन, ठेक्का प्रक्रिया मुख्य बाधक : नगरप्रमुख खड्का


२२ घण्टा अगाडि


तुलसीपुर, १४, कात्तिक । तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टीकाराम खड्काले दमकल खरिद प्रक्रिया बजेट अभावका कारण नभई सार्वजनिक खरिद प्रक्रिया रीतपूर्वक पूरा हुन नसक्दा ढिलाइ भएको स्पष्ट पारेका छन्।

उपमहानगरपालिकाको सम्पत्तिमाथि आगजनी गरी करिब २५ करोड रुपैयाँ बराबरको ठूलो क्षति पुर्‍याउने पक्षले दमकल नआउनुको वास्तविक कारण बुझ्नपर्ने भन्दै नगरप्रमुख खड्काले आफ्नो फेसबुक पेजमार्फत धारणा सार्वजनिक गरेका हुन्।

सामाजिक सञ्जालमा स्पष्टीकरण दिँदै नगरप्रमुख खड्काले भनेका छन्, “तुलसीपुर उपमहानगरपालिकाको सम्पत्तिमाथि आगो लगाउने र २५ करोडको क्षति पुर्‍याउने व्यक्तिहरूले नै बुझ्नुपर्छ कि रकम नभएर दमकल नआएको होइन। दुई पटकअघि टेन्डर सूचना आह्वान गर्दा पनि रीतपूर्वक ठेक्का सदर हुन सकेन, पुनः तेस्रो पटक सूचना गरिँदै छ।”

उपमहानगरपालिकाले कार्यालयतर्फबाट दमकल खरिदबापत १ करोड २५ लाख रुपैयाँ बजेट विनियोजन गरी सार्वजनिक खरिद प्रक्रिया अघि बढाइएको उनले जानकारी दिएका छन्। तर, दुई पटकसम्म आह्वान गरिएको टेन्डर विभिन्न कारणले स्वीकृत हुन नसकेको र अब छिट्टै तेस्रो पटक पुनः टेन्डर आह्वान गर्न लागिएको छ। यसपटक खरिद प्रक्रिया टुंगिनेमा आफूहरू आशावादी रहेको नगरप्रमुख खड्काको भनाइ छ।

यसैबीच, दमकल खरिद तथा आपतकालीन व्यवस्थापनका लागि स्थानीय तहबाट मात्रै प्रयास नभई संघीय निकायबाट समेत सहयोगको अपेक्षा गरिएको तर सुनुवाइ नभएको उनले गुनासो गरेका छन्।

फेसबुक पोस्टमा उनले थप उल्लेख गरेका छन्, “हामीले कार्यालयको तर्फबाट गृह मन्त्रालय, विपद् प्राधिकरण काठमाडौँलाई समेत अनुरोध गरी पठाएका थियौँ, तर सुनुवाइ भएको छैन।”


पछिल्लो समय दमकलको अभावका कारण आगलागीका घटना हुँदा समयमै उद्धार तथा नियन्त्रणको कार्य प्रभावित बन्दै आएको छ। यस्तो संवेदनशील र जोखिमपूर्ण अवस्थामा उपमहानगरपालिकाले सबै कानुनी अड्चनहरू चिर्दै दमकल खरिद प्रक्रियालाई कसरी छिटोभन्दा छिटो निष्कर्षमा पुर्‍याउँछ र संघीय सरकारले यसमा कस्तो सहजीकरण गर्छ भन्ने विषयमा अहिले नगरवासीको विशेष चासो बढेको छ।

प्रतिक्रिया दिनुहोस

data-href="