१५ कात्तिक। केही दिनदेखि वर्षा र हिमपात गराएको चक्रवातको प्रभाव हट्दै गएपछि देशभरको मौसममा क्रमिक सुधार हुन थालेको छ। मौसममा सुधार आएसँगै भोलि सोमबारदेखि धानबाली काट्ने, भित्र्याउनेलगायतका कृषि गतिविधि गर्न सकिने मौसमविद्ले बताएका छन्।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान तराईका पश्चिम तथा मध्य क्षेत्रका विभिन्न स्थानमा बाक्लो हुस्सु र कुहिरो लागेको छ। बाँकेको नेपालगन्ज, दाङको घोराही, रुपन्देहीको भैरहवा तथा आसपासका क्षेत्रमा बिहानैदेखि हुस्सु र कुहिरो देखिएको हो।
त्यस्तै, काठमाडौं उपत्यका, बाराको सिमरा र आसपासका क्षेत्रमा पनि हुस्सु तथा कुहिरो लागेको महाशाखाले जनाएको छ। बिहान लागेको हुस्सु र कुहिरो घाम लागेसँगै दिउँसोपछि क्रमशः हट्दै जाने अनुमान गरिएको छ। पहाडी तथा हिमाली क्षेत्रका अधिकांश स्थानमा भने बिहानैदेखि घाम लागेको छ।
बङ्गालको खाडीमा विकसित ‘अर्नब’ चक्रवातको प्रभाव बिहीबारदेखि देखिँदा देशका विभिन्न स्थानमा निरन्तर वर्षा र हिमपात भएको थियो। उक्त प्रभावका कारण धानबाली काट्ने तथा भित्र्याउने कामसँगै पदयात्रा र अन्य गतिविधिसमेत प्रभावित भएका थिए।
गएराति मकवानपुरको रजैया मौसम मापन केन्द्रमा सबैभन्दा बढी १०.२ मिलिमिटर वर्षा मापन भएको छ। अन्य केही स्थानमा पनि हल्का वर्षा भएको महाशाखाले जनाएको छ।
मौसमविद् सञ्जीव अधिकारीका अनुसार चक्रवातको प्रभाव हटेसँगै मौसममा सुधार आउन थालेको छ। यही क्रम जारी रहे सोमबारदेखि किसानले धान काट्ने र भित्र्याउनेलगायतका कामलाई निरन्तरता दिन सक्नेछन्।
महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिक बदली रहनेछ। हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहे पनि समग्रमा मौसम सुधारोन्मुख रहनेछ।
वर्षा रोकिएर मौसम खुले पनि काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा चिसो भने बढेको छ।
प्रतिक्रिया दिनुहोस