काठमाडौं । सरकारले यस वर्षको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम कात्तिक १७ र १८ गते सञ्चालन गर्ने तयारी गरेको छ। दसैँका कारण नियमित तालिकामा परिवर्तन गर्दै कार्यक्रम दुई साता पछाडि सारिएको हो। यस चरणमा करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ र २० लाख बालबालिकालाई जुकाको औषधि खुवाइनेछ।
स्वास्थ्य सेवा विभागका पोषण शाखा प्रमुख लिलाविक्रम थापाका अनुसार छ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल तथा एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइनेछ।
कार्यक्रमका लागि भिटामिन ‘ए’ क्याप्सुल सबै प्रदेशका स्वास्थ्य आपूर्ति केन्द्रमा पठाइसकिएको छ। बालबालिकालाई औषधि खुवाउन ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १० हजार स्वास्थ्यकर्मी परिचालन गर्ने तयारी छ।
बालबालिकामा हुन सक्ने स्वास्थ्य जटिलता र कुपोषणको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले सरकारले २०५० सालदेखि नियमित रूपमा भिटामिन ‘ए’ क्याप्सुल खुवाउँदै आएको छ। त्यस्तै, २०५६ सालदेखि जुकाको औषधि खुवाउने कार्यक्रम सञ्चालन हुँदै आएको छ।
प्रतिक्रिया दिनुहोस