दाङ । बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को सम्भावित प्रभावले बिहीबारदेखि नेपालका पाँच प्रदेशमा वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात हुन सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले हिमआँधी र हिमपहिरोको जोखिमसमेत औँल्याउँदै सतर्कता अपनाउन आग्रह गरेको छ।
महाशाखाका अनुसार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा चक्रवातको बढी प्रभाव पर्न सक्छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा पनि वर्षा हुने सम्भावना छ।
कात्तिक १३ र १४ गते कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित मध्यम वर्षा हुन सक्नेछ। ती प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ। लुम्बिनीका केही स्थानमा मध्यमदेखि भारी वर्षा तथा कर्णाली र सुदूरपश्चिमका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाको पूर्वानुमान छ।
सम्भावित जोखिमलाई ध्यानमा राख्दै महाशाखाले उच्च हिमाली क्षेत्रमा पदयात्रा नगर्न र त्यहाँ पुगिसकेका पर्यटकलाई सुरक्षित स्थानमा रहन आग्रह गरेको छ। किसानलाई वर्षा सुरु हुनुअघि धानबाली भित्र्याउन तथा पहिरोको जोखिम भएका क्षेत्र र सडकमा सतर्कता अपनाउन पनि अनुरोध गरिएको छ।
नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले कात्तिक ११ देखि १५ गतेसम्म नारायणी, बागमती, कमला र कोसी नदीका जलाधार तथा आसपासका क्षेत्रमा उल्लेख्य वर्षा हुन सक्ने जनाएको छ। वर्षाका कारण नदीको जलसतह बढ्न सक्ने भएकाले तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन आग्रह गरिएको छ।
भारी वर्षा, हिमपात र हिमपहिरोका कारण हिमाली क्षेत्रको पदयात्रा, सडक यातायात तथा दैनिक जनजीवन प्रभावित हुन सक्ने जोखिम छ।
भारतको तटीय क्षेत्रमा चक्रवातको प्रभाव पर्ने अनुमान
भारतको मौसम विभागका अनुसार चक्रवात बुधबार बिहान आन्ध्र प्रदेशको बापटला र विशाखापट्टनमबीचको तटीय क्षेत्रबाट जमिनमा प्रवेश गर्न सक्ने अनुमान छ। त्यसबेला हावाको निरन्तर गति प्रतिघण्टा ११५ देखि १२५ किलोमिटर र झोक्काको गति प्रतिघण्टा १४० किलोमिटरसम्म पुग्न सक्ने बताइएको छ।
चक्रवातको जोखिमलाई ध्यानमा राख्दै भारतका आन्ध्र प्रदेश र ओडिशामा उद्धार तथा राहत टोलीलाई तयारी अवस्थामा राखिएको छ। जोखिमयुक्त जिल्लामा गर्भवती महिलालाई स्वास्थ्य केन्द्र तथा अस्पतालमा सारिएको र केही जिल्लामा शैक्षिक संस्था बन्द गर्ने निर्णय गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
चक्रवातको प्रत्यक्ष प्रभाव भारतको तटीय क्षेत्रमा पर्ने अनुमान भए पनि त्यसको अवशेष नेपालतर्फ सर्न सक्ने सम्भावना छ। अर्को पश्चिमी वायु प्रणालीसँग अन्तरक्रिया भए नेपालमा वर्षा थप तीव्र हुन सक्ने महाशाखाले जनाएको छ। महाशाखाले मौसमसम्बन्धी आधिकारिक पूर्वानुमान र चेतावनीअनुसार सतर्कता अपनाउन आग्रह गरेको छ।
प्रतिक्रिया दिनुहोस