काठमाडौ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई खेल हुँदैछन्। दिउँसो साढे १२ बजे चितवन राइनोज र विराटनगर किङ्सबीच प्रतिस्पर्धा हुनेछ भने साँझ ५ बजे जनकपुर बोल्ट्स र कर्णाली याक्स आमनेसामने हुनेछन्।
सोमबारदेखि सुरु भएको प्रतियोगिताको पहिलो खेलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई सात विकेटले पराजित गरेको थियो। पहिलो दिन एउटा मात्र खेल भएकोमा दोस्रो दिन दुई खेल हुन लागेका हुन्।
सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर किङ्समा लोकेश बम, बसिर अहमद, प्रतिश जीसी, सुवास भण्डारी, नारायण जोशी, रुपेश सिंह, नरेन साउद, सुजन थपलियालगायत खेलाडी छन्। टोलीमा आन्द्रे रसेल, एन्जेलो म्याथ्युज, चरिथ असलंका र मोइन रन्जानेजस्ता विदेशी खेलाडी पनि छन्।
कुशल मल्लको कप्तानीमा रहेको चितवन राइनोजमा देव खनाल, अर्जुन साउद, रिजन ढकाल, कमल सिंह ऐरी, दीपक बोहरा, रवि बोपारा, सिकन्दर राजा, कलिम साना, विवेक यादव, विपिन रावल र हसन अलीलगायत खेलाडी छन्।
आजको दोस्रो खेलमा हर्मित सिंहको कप्तानीमा रहेको जनकपुर बोल्ट्सले सोमपाल कामीको कप्तानीमा रहेको कर्णाली याक्ससँग प्रतिस्पर्धा गर्नेछ।
जनकपुरको टोलीमा कुशल परेरा, ललित राजवंशी, मयन यादव, अनिल साह, विकास आग्री, जिमी नीशम, मोइन अली र इफ्तिखार अहमदलगायत खेलाडी छन्। कर्णालीको टोलीमा डेभिड मिलर, नन्दन यादव, युवराज खत्री, पवन सर्राफ, दीपक डुम्रे, दीपेन्द्र रावत र दिवान पुनलगायत खेलाडी समावेश छन्।
एनपीएलको फाइनल खेल मंसिर ५ गते हुने तालिका छ।
प्रतिक्रिया दिनुहोस