after_navbar

सरकारी वेबसाइट पुनः सञ्चालनमा


१ घण्टा अगाडि


काठमाडौ। साइबर सुरक्षा जोखिमका कारण अस्थायी रूपमा बन्द गरिएका एक हजारभन्दा बढी सरकारी वेबसाइट तथा अनलाइन सेवा पुनः सञ्चालनमा आएका छन्। वेबसाइट निर्माणमा प्रयोग हुने ‘पीएचपी’ प्रोग्रामिङ भाषामा देखिएको ‘पीएचपीटुसेल’ सुरक्षा कमजोरी समाधान गर्न सुरक्षा प्याच लागू गरी परीक्षण सम्पन्न गरेपछि सेवा पुनः सञ्चालनमा ल्याइएको हो।

नेपाल सरकारको सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र (एसडीओसी) का अनुसार सुरक्षा जोखिम न्यूनीकरणका लागि आवश्यक प्राविधिक काम सम्पन्न भएपछि एक हजारभन्दा बढी सरकारी वेबसाइट तथा अनलाइन सेवा सञ्चालनमा आएका हुन्। बाँकी सेवा पनि छिट्टै सञ्चालनमा ल्याउन काम भइरहेको केन्द्रले जनाएको छ।

गत बिहीबारदेखि नेपालसहित विश्वका विभिन्न सरकारी निकाय, बैंक तथा वित्तीय संस्था र निजी क्षेत्रका वेबसाइट अस्थायी रूपमा बन्द गरिएका थिए। सुरक्षा जोखिमका कारण सेवा बन्द हुँदा अनलाइन माध्यमबाट सरकारी सेवा लिने सेवाग्राही प्रभावित भएका थिए।

‘पीएचपीटुसेल’ नामक सुरक्षा कमजोरीलाई सीभीई-२०२६-१०९६१८ र सीभीई-२०२६-१०९६१९ नम्बरबाट पहिचान गरिएको छ। उक्त जोखिम समाधान गर्न सम्बन्धित प्रणालीमा सुरक्षा प्याच लागू गर्नुका साथै आवश्यक परीक्षण गरिएको केन्द्रले जनाएको छ।

वेबसाइट तथा अनलाइन सेवा पुनः सञ्चालनमा आएसँगै सरकारी निकायका डिजिटल सेवा सामान्य अवस्थामा फर्कन थालेका छन्। बाँकी सेवा पनि यथाशीघ्र सञ्चालनमा ल्याउन प्राविधिक टोलीले काम गरिरहेको केन्द्रले जनाएको छ।

यसैबीच, वेबसाइट तथा अनलाइन सेवा पुनः सञ्चालनमा ल्याउने काममा दसैँको बिदामा समेत खटिएका प्राविधिक टोली र सहयोगी संस्थाप्रति केन्द्रले आभार व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस

data-href="