after_navbar

साउदीमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह


कार्तिक ११, २०८३


काठमाडौ। साउदी अरबमा सुरक्षा जोखिम बढेको भन्दै नेपाली राजदूतावासले त्यहाँ रहेका नेपाली नागरिकलाई उच्च सतर्कता अपनाउन र अनावश्यक रूपमा बाहिर ननिस्कन आग्रह गरेको छ।

रियादस्थित नेपाली दूतावासले सूचना जारी गर्दै नेपाली नागरिकलाई सुरक्षा अवस्थाबारे सचेत रहन र जोखिमयुक्त क्षेत्रमा विशेष सावधानी अपनाउन अपिल गरेको हो।

दूतावासले सुरक्षा निकाय तथा सम्बन्धित आधिकारिक निकायबाट जारी निर्देशन पूर्ण रूपमा पालना गर्न आग्रह गरेको छ। साथै, सामाजिक सञ्जालमा फैलिन सक्ने भ्रामक तथा अपुष्ट सूचना, तस्बिर र भिडियो पोस्ट वा सेयर नगर्न पनि सचेत गराएको छ।

हवाई यात्रा गर्ने तयारीमा रहेका नेपालीलाई उडान तालिकामा परिवर्तन भए–नभएको सम्बन्धित वायुसेवा कम्पनी वा आधिकारिक स्रोतबाट यकिन गरेर मात्र यात्रा गर्न दूतावासले अनुरोध गरेको छ।

आपत्कालीन अवस्था वा कुनै समस्या आइपरेमा रियादस्थित नेपाली दूतावास तथा जेद्दास्थित नेपाली महावाणिज्य दूतावासमा सम्पर्क गर्न पनि आग्रह गरिएको छ।

अनुमानअनुसार साउदी अरबमा झन्डै चार लाख नेपाली श्रमिक कार्यरत छन्। रोजगारीका लागि हरेक वर्ष ठूलो सङ्ख्यामा नेपाली त्यहाँ जाने गरेका छन्।

यसैबीच, यमनमा सक्रिय हुथी विद्रोही समूहले साउदी अरबका विमानस्थल, तेल केन्द्र तथा अन्य महत्त्वपूर्ण संरचनालाई लक्षित गरी आक्रमण गरिरहेको समाचारहरू सार्वजनिक भएका छन्। यस्तो अवस्थामा साउदीमा रहेका नेपालीलाई आधिकारिक सूचनामा भर पर्न र सुरक्षा सतर्कता अपनाउन दूतावासले आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस

data-href="