after_navbar

विपद् जोखिम नक्साङ्कन तथा पूर्वसूचना प्रणालीबारे कार्यशाला


१ घण्टा अगाडि


दाङ। दाङको लमहीमा विपद् जोखिम नक्साङ्कन तथा पूर्वसूचना प्रणालीबारे कार्यशाला गोष्ठी सम्पन्न भएको छ। राप्ती करिडोरका समुदायमा विपद् जोखिम न्यूनीकरण र पूर्वसूचना प्रणाली प्रभावकारी बनाउने उद्देश्यले उक्त कार्यशाला आयोजना गरिएको थियो।

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दाङको आयोजनामा तथा डिभिजन वन कार्यालय दाङ (देउखुरी) र तराई भू-परिधि तथा संरक्षण कार्यक्रमको समन्वय र सहकार्यमा कार्यशाला आयोजना गरिएको हो। गोष्ठीमा विपद् जोखिम नक्साङ्कन, पूर्वसूचना प्रणाली तथा सूचना सञ्चार संयन्त्र निर्माण र अद्यावधिक गर्ने विषयमा छलफल भएको थियो।

सहभागीहरूले पूर्वसूचनालाई सम्बन्धित सबै सरोकारवाला निकाय र समुदायसम्म पुर्‍याउन आवश्यक रहेको बताएका थिए। विपद्को जोखिम न्यूनीकरणका लागि सूचना प्रवाहलाई व्यवस्थित र प्रभावकारी बनाउनुपर्नेमा उनीहरूले जोड दिएका थिए।

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दाङका सभापति मदन गौतमको अध्यक्षतामा भएको कार्यक्रममा डिभिजन वन कार्यालय दाङका वन अधिकृत दीपक थारू प्रमुख अतिथि तथा लमही नगरपालिकाकी विपद् सम्पर्क व्यक्ति ललिता कडायत विशिष्ट अतिथि थिए। जिल्ला शाखाका मन्त्री प्रकाश श्रीवन्दले सहभागीलाई स्वागत गरेका थिए।

कार्यशालामा सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारी तथा सदस्य, विद्यालयका शिक्षक, वन समन्वय समितिका प्रतिनिधि, रेडक्रसका स्वयंसेवक र समुदायका व्यक्तिहरूको सहभागिता थियो। कार्यक्रमको सहजीकरण नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयका प्राविधिक संयोजक भरतराज भाट, तराई भू-परिधि तथा संरक्षण कार्यक्रमका कार्यक्रम सहयोगी प्रतीक शाह र जिल्ला शाखाका कार्यालय प्रमुख विश्राम अधिकारीले गरेका थिए।

लमही नगरपालिका, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दाङ तथा तराई भू-परिधि तथा संरक्षण कार्यक्रमले नगरपालिकाका बढी जोखिमयुक्त समुदायमा जल तथा मौसम विज्ञान विभागबाट प्राप्त सूचना माइकिङ र स्वयंसेवक परिचालनमार्फत प्रवाह गर्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस

data-href="