काठमाडौ। वैदेशिक रोजगार विभागले मलेसियाद्वारा छनोट गरिएका २५ वटा म्यानपावर कम्पनीमाथि मंगलबारदेखि अनुगमन सुरु गरेको छ। विभागले यसअघि ती कम्पनीका सञ्चालक तथा सम्बन्धित व्यवसायीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो।
विभागका महानिर्देशक नवराज ढकालका अनुसार कानुनी प्रक्रिया पूरा गरेर अनुगमन तथा अनुसन्धान अघि बढाइएको हो। यस विषयमा अनुसन्धान अधिकृत तोकिएको र उनले आवश्यक कानुनी प्रक्रिया पूरा गरी अनुसन्धान गरिरहेको ढकालले बताएका छन्।
मलेसियाको फरेन वर्कर म्यानेजमेन्ट सिस्टममा २५ वटा म्यानपावर कम्पनी मात्रै आबद्ध भई एकाधिकार कायम गरेको आरोपमा विभागले छानबिन गरिरहेको छ। यस विषयमा म्यानपावर व्यवसायीहरूले भने कूटनीतिक माध्यमबाट आफूहरूलाई मलेसियाको सूचीबाट हटाउन नेपाल सरकारसँग आग्रह गरेका छन्।
विभागले पक्राउ पुर्जी जारी गरिएका म्यानपावर व्यवसायीलाई ३५ दिनभित्र सम्पर्कमा आउन सूचित गरेको छ। तोकिएको अवधिमा सम्पर्कमा नआए उनीहरूको बैंकिङ कारोबार तथा यात्रा अनुमति रोक्ने चेतावनीसमेत दिइएको छ।
यस विषयलाई आपसी संवादबाट समाधान गर्न युवा, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मलेसियासँग द्विपक्षीय संयुक्त कार्य समूहको बैठक बस्ने प्रस्ताव गरेको छ। मन्त्रालयले नोभेम्बर १८-१९ वा डिसेम्बर २-३ मध्ये कुनै मितिमा बैठक आयोजना गर्न प्रस्ताव गरेको हो।
प्रतिक्रिया दिनुहोस