दाङ,१९ साउन। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) अन्तर्गत कार्यरत करार, मासिक तथा दैनिक ज्यालादारी कर्मचारीहरूले देशव्यापी आन्दोलन सुरु गरेका छन्। राप्ती प्राविधिक शिक्षालय गढवा-३ मा कार्यरत कर्मचारीहरू समेत धर्नामा बसेर दबाबमूलक कार्यक्रम थालेका छन्।
करार, मासिक तथा दैनिक ज्यालादारी श्रमिक केन्द्रीय संघर्ष समितिको आह्वानमा प्रदेश कार्यालय, शिक्षालय, तालिम केन्द्र तथा अन्य शाखामा आन्दोलन विस्तार गरिएको हो।
समितिका अनुसार कर्मचारीहरूको हकहित, सामाजिक सुरक्षा र सेवाको सुनिश्चिततासहित ९ बुँदे माग व्यवस्थापनसमक्ष राखिएको भए पनि हालसम्म कुनै ठोस निर्णय नभएकाले आन्दोलनमा उत्रिनुपरेको हो।
समितिले साउन ११ गते दिएको २४ घण्टे अल्टिमेटमपछि पनि माग सम्बोधन नभएकाले साउन १८ गतेदेखि प्रशासनिक तथा आर्थिक शाखाको काम पूर्ण रूपमा बन्द गरिएको जनाएको छ। साथै साउन २२ गतेदेखि शैक्षिक गतिविधि र परीक्षा सम्बन्धी कामकाजसमेत ठप्प पार्ने चेतावनी दिइएको छ।
यसअघि संघर्ष संयोजक सुशील पौडेलले शिक्षालय प्रमुख परशुराम खनाल लाई आन्दोलनसम्बन्धी ज्ञापनपत्र बुझाएका थिए।
प्रतिक्रिया दिनुहोस