काठमाडौ,१९ साउन। स्कुल बस दुर्घटना हुँदा महोत्तरीमा ६ जना घाइते भएका छन्। महोत्तरीको गौशाला नगरपालिका–९, डुमरवाना स्थित भित्री सडकमा स्कुल बस दुर्घटना हुँदा चालकसहित ६ जना घाइते भएका हुन् ।
मङ्गलबार बिहान ७ः३० बजे मोर्डन शारदा शिक्षा सदन बोर्डिङ स्कुलको बा १ क ६१२९ नम्बरको बस इमली बजारबाट गौशालातर्फ जाँदै गर्दा अनियन्त्रित भई उखुबारीमा पल्टिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक पञ्चलाल गोलेले जानकारी दिए।
दुर्घटनामा बस चालकसहित गौशाला नगरपालिका-५ का ४० वर्षीय विजय भुजेल, गौशाला नगरपालिका-११ का १० वर्षीय प्रतीक कुशवाहा, ८ वर्षीय प्रज्ज्वल कुशवाहा, १३ वर्षीया प्रिती कुशवाहा, गौशाला नगरपालिका-९ का १३ वर्षीय उमर शेख र गौशाला नगरपालिका-११ का ६ वर्षीय आदर्श कुशवाहा घाइते भएका छन्।
घाइतेमध्ये अधिकांशको खुट्टा, नाक, कम्मर लगायतका ठाउँमा चोट लागेको प्रहरीले जनाएको छ। घाइतेमध्ये भुजेल र शेखलाई उपचारका लागि बीके अस्पताल गौशाला पठाइएको छ भने अन्य चार जनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक गोलेले जानकारी दिए।
घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी कान्तिबजारबाट खटिएको प्रहरी टोली र स्थानीयवासीले घाइतेलाई उद्धार गरी उपचारका लागि अस्पताल पुर्याएका थिए।
प्रतिक्रिया दिनुहोस