काठमाडौं,२१ माघ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेता तथा कार्यकर्ता एकताबद्ध भएमा बहुमत प्राप्त गर्न सकिने बताएका छन्।
कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले सोमबार पोखरामा आयोजना गरेको प्रदेश सभापति तथा प्रशिक्षण विभाग प्रमुखका लागि सङ्गठन र समसामयिक सन्दर्भमा अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै देउवाले एकताबद्ध हुनुपर्नेमा जोड दिए। अहिलेको समावेशी एवं समानुपातिक राजनीतिक प्रणालीका कारण एउटा पार्टीको बहुमत आउन गाह्रो हुने उनेको भनाइ थियो।
कांग्रेसले भने एकताबद्ध भएमा बहमुत ल्याउने सक्ने उनले बताए। “अहिले हामीले समावेशी एवं समानुपातिक राजनीतिक प्रणाली अवलम्बन गरेका छौं, यसबाट कुनै एउटा पार्टीको बहुमत आउन गाह्रो छ,” पूर्व प्रधानमन्त्री देउवाले भने, “तैपनि हामीले सबैभन्दा ठूलो पार्टी बनाउन सफल भएका छौं। अझ पार्टीका सबै साथीहरूबीच हार्दिक एकता भयो भने भोलिका दिनमा कांग्रेसलाई बहुमत प्राप्त पार्टी बनाउन सक्छौं।”
अहिलेको संवैधानिक व्यवस्थाले राज्य सञ्चालनमा मुलुकका सबै जातजाति, भाषा, समुदाय र क्षेत्रको प्रतिनिधित्व सुनिश्चित गरेको उनले उल्लेख गरे। त्यसैले अहिलेको संवैधानिक व्यवस्थालाई अंगिकार गरेर अघि बढ्नुपर्ने उनको भनाइ थियो।
देउवाले पार्टीमा सुमधुर सम्बन्ध सहितको एकता र क्रियाशीलता आवश्यक रहेको बताए। उनले देश र जनताका पक्षमा खटिएर काम गर्न नेता तथा कार्यकर्तालाई आग्रह गरे।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस