दाङ,१० चैत । दाङमा कुलोमा डुबेर एक पुरुषको मृत्यु भएको छ। राप्ती गाउँपालिका–३, दक्षिण मसुरियामा कुलोमा डुबेर एक पुरुषको मृत्यु भएको हो।
मृत्यु हुनेमा ५० वर्षीय राजु चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। प्रहरीका अनुसार उनी गएराति घरबाट कसैलाई जानकारी नदिई निस्किएका थिए। घरबाट करिब २–३ सय मिटर टाढा रहेको मौरीघाट कुलोम डुबेको अवस्थामा उनको शव फेला परेको हो।
स्थानीयले बिहान करिब ६ बजे प्रहरीलाई खबर गरेपछि प्रहरी घटनास्थल पुगेको थियो। प्रहरीका अनुसार मृतक नियमित मादक पदार्थ सेवन गर्ने गरेका थिए र सो दिन पनि मदिरा सेवन गरेका कारण कुलोमा खसेर मृत्यु भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ।
मृतकको शव पोष्टमार्टमका लागि लमही अस्पताल, दाङको शवगृहमा राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस