प्युठान,२१ माघ।समाजसेवी स्वर्गीय बुद्धिराम भण्डारी र उनका स्वर्गीय नाति विदुर भण्डारीको स्मृतिमा सरस्वतीको मन्दीर स्थापना गरिएको छ। प्युठानको नौबहिनी गाउँपालिका वडा नं ८ स्थित फोप्लीमा रहेको अम्बिका माध्यमिक विद्यालयमा उक्त मन्दिर स्थापना गरिएको हो।
विद्यालय व्यवस्थापन समितिका आजीवन अध्यक्षसमेत रहेका स्वर्गीय बुद्धिराम भण्डारीको स्मृतिमा उनका छोरा बुहारीहरूले सरस्वतीको मूर्तिसहितको मन्दिर स्थापना गरेका हुन्।
१ लाख ५० हजार रूपैयाँको लागतमा सरस्वती देवीको मूर्ति स्थापना गरिएको उनका छोरा मेघराज भण्डारीले जानकारी दिए। सरस्वती पूजा अर्थात् वसन्त पञ्चमीको अवसर पारेर विद्यालयको प्राङ्गणमा उक्त मूर्तिको स्थापना तथा प्राण प्रतिष्ठा गरिएको उनले जानकारी दिए।
स्वर्गीय भण्डारीकी धर्मपत्नी चुमाकुमारी भण्डारी, छोरा बुहारी दुर्गाप्रसाद भण्डारी र कमला भण्डारी, भेषराज भण्डारी र लक्ष्मी भण्डारी , मेघराज भण्डारी र कमला भण्डारीले संयुक्त रुपमा उक्त मूर्तिको स्थापना गरेका हुन्।
मूर्ति स्थापनाको अवसरमा सहभागी स्थानीय तथा अभिभावकहरूले स्वर्गीय भण्डारीले सामाजिक क्षेत्र र शैक्षिक क्षेत्रको विकासका लागि पुर्याएको योगदानको चर्चा गरेका थिए।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस