चितवन, २४ माघ। साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम हिनामिना आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध दोस्रो दिनको थुनछेक बहस चितवन जिल्ला अदालतमा सुरु भएको छ।
जिल्ला अदालतका सूचना अधिकारी अमृत विश्वकर्माका अनुसार नेपाल सरकारका तर्फबाट छिमेकी जिल्लाका न्यायाधिवक्ताहरूले बहस थालेका छन्। बाराका जिल्ला न्यायाधिवक्ता शम्भु कुमार बस्नेत, पर्साका न्यायाधिवक्ता भोलानाथ निरौला, र धादिङका जिल्ला न्यायाधिवक्ता दशरथ पङ्गेनीले क्रमशः बहस गर्नेछन्।
यसअघि बुधबार, चितवन सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधिवक्ता रवि न्यौपाने, सहायक न्यायाधिवक्ता अमृत सुवेदी, र बुद्धबहादुर थापाले बहस गरिसकेका थिए। जाहेरवालाका तर्फबाट अधिवक्ता रमेश काफ्लेले बहस गरेका थिए।
थुनछेक बहसमा जाहेरवालाका तर्फबाट वरिष्ठ अधिवक्ता राजकुमार श्रेष्ठ, अधिवक्ता सुनिता अधिकारी, र शम्भु बर्तौलाले वकालत गर्नेछन्।
लामिछानेका तर्फबाट भने वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्त, धर्मराज आचार्य, अधिवक्ता डा. नारायणदत्त कँडेल, चुडामणी सापकोटा, रामचन्द्र देवकोटा, सुवर्ण सापकोटा, गोपिलाल देवकोटा, केदारराज पन्त, दीपकराज तिमिल्सेना, र सञ्जय गोले गरी १० जना कानुन व्यवसायीले बहसका लागि वकालतनामा दर्ता गरेका छन्।
बुधबार बहस जारी रहँदा लामिछानेलाई न्यायिक हिरासतका लागि जिल्ला प्रहरी कार्यालयको जिम्मा लगाइएको थियो। न्यायाधीश दयाराम ढकालको इजलासमा थुनछेक बहस जारी छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस