after_navbar

अध्यक्ष भण्डारीले गरे आफ्नो कार्यकालको उपलब्धिहरू सार्वजनिक


फागुन ०२, २०८१


दाङ,२ फागुन । तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको उपलब्धिहरू सार्वजनिक गरिएको छ। संस्थाको अध्यक्ष एकान्त भण्डारीले ३ वर्षे कार्यकालमा भएका उपलब्धिहरूलाई शुक्रबार सार्वजनिक गरेका हुन्।

ad

शुक्रबार प्रेस विज्ञप्ति मार्फत उनले आफ्नो कार्यकालमा खानेपानी व्यवस्थापन, पूर्वाधार निर्माण, प्रविधि उपयोग, तथा पारदर्शिता वृद्धि गर्दै संस्थाले तुलसीपुर क्षेत्रका उपभोक्ताहरूलाई सुविधा उपलब्ध गराउने विभिन्न कामहरू भएको जानकारी गराए।

संस्थाले तुलसीपुर क्षेत्रमा खानेपानी अभाव समाधान गर्न सह-लगानी खानेपानी तथा सरसफाई आयोजना अघि बढाएको थियो। हालसम्म ७० प्रतिशत काम सम्पन्न भइसकेको उनले जानकारी दिए । आयोजना पूरा भएपछि कम्तीमा १०० लिटर प्रति सेकेन्ड पानीको आपूर्ति सम्भव हुने बताइएको छ। जसले नयाबसपार्क, रानीजरुवा लगायतका क्षेत्रमा बसोबास गर्ने नागरिकलाई राहत दिने अपेक्षा छ।

प्रेस विज्ञप्ति जारी गर्दै भण्डारीले नेपाल सरकारको ‘एक घर, एक धारा’ नीतिअनुसार, यस क्षेत्रका खानेपानीबाट वञ्चित उपभोक्ताहरूलाई संस्थाले आफ्नै स्रोत साधन परिचालन गरी धारा स्वीकृत गरेको जानकारी गराए । संस्थाले पुराना पाइपलाइनहरूको मर्मत तथा नयाँ पाइपलाइन जडानको कामसमेत गरेको छ, जसले सेवा प्रभावकारी बन्ने उनको विश्वास छ।

यसैगरी आफ्नो कार्यकालमा मुहान संरक्षणका लागि पहल गरिएको र अवैध उत्खनन रोकिनु आफ्नो कार्यकालको महत्त्वपूर्ण उपलब्धि रहेको उनको भनाइ छ। खानेपानीको प्रमुख मुहान क्षेत्रहरू मुलकोट, राम्री, चिसापानी, घेरेनी, बाखे, छरछरे र पहरे मा हुने अनधिकृत उत्खननलाई रोक्न संस्थाले पहल गरेको उनको विज्ञप्तिमा उल्लेख छ।

भू-माफियाहरूले तुलसीपुर उपमहानगरपालिका वडा नं. ३,२, ४ अन्तर्गत उत्खननका लागि स्वीकृति लिएको थाहा पाएपछि, वन मन्त्रालय र खानी विभागमा निवेदन दर्ता गराई उत्खनन रोक्ने काम गरिएको अध्यक्ष भण्डारीले जानकारी दिए।

संस्थाले रक्षाचौर र बेलवास्थित ट्रीटमेन्ट प्लान्टमा रहेको पुरानो बालुवा तथा गिट्टी प्रतिस्थापन गरेको छ। यो कार्य पूरा भइसकेकाले अब आउने वर्षायाममा धमिलो पानीको समस्या नहुने अध्यक्ष भण्डारीले बताए।

संस्थाले विभिन्न स्थानमा रहेको करिब १०० खानेपानी वितरण च्याम्बरहरू निर्माण गरी पूर्णरूपमा सुरक्षित बनाएको छ। अझै केही स्थानमा निर्माण कार्य बाँकी रहेको र चाँडै सम्पन्न गर्ने योजना रहेको जानकारी गराइएको छ।

संस्थाले जीआईएस प्रविधि तथा मोबाइल एप प्रणाली लागू गर्दै सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउने कार्य अघि बढाएको छ। निकट भविष्यमा स्मार्ट मिटर जडान गरी उपभोक्ताहरूलाई पारदर्शी बिलिङ प्रणाली उपलब्ध गराउने लक्ष्य लिइएको छ।


संस्थाले आगामी २०८१ चैत २ गते हुने मूल कार्यसमिति निर्वाचनलाई निष्पक्ष, पारदर्शी र सर्वसम्मत रूपमा सम्पन्न गर्न सबै राजनीतिक दलहरूलाई एकजुट भई राम्रो नेतृत्व चयन गर्न अपिल गरेको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="