दाङ,२५ फागुन । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता सुरु भएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रतियोगिताको उद्घाटन गरेका छन । देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मुख्यमन्त्री आचार्यले ब्याटिङ गर्नु भएको थियो भने क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले बलिङ गरेर प्रतियोगिताको शुभारम्भ गरेका हुन।
नेपाल क्रिकेट संघ (क्यान) ले यो प्रतियोगिता दाङको लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदान, सिद्धार्थ रंगशाला र तिलोत्तमा एक्स्ट्राटेक ओभल मैदानमा सञ्चालन गरेको हो ।
देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा प्रतियोगिताको शुभारम्भ गर्दै मुख्यमन्त्री आचार्यले खेल पर्यटनले मुलुकको समृद्धि र विकासमा महत्वपूर्ण योगदान पुर्याउने बताए । ‘खेल पर्यटनको विकास भइरहेको छ । यो सुखद पक्ष हो,’ मुख्यमन्त्री आचार्यले भने, ‘खेल आर्थिक समृद्धिको आधार बन्दै गएको छ । अन्तर्राष्ट्रिय तथा राष्ट्रिय प्रतियोगिताले विदेशी पर्यटकलाई आकर्षित गरिरहेको छ ।’ खेल क्षेत्रको पूर्वाधार विकास, खेलाडीको क्षमता अभिवृद्धि र नयाँ खेलाडी उत्पादनका लागि सरकारले विशेष ध्यान दिएको उनको भनाइ छ ।
क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले काठमाडौं बाहिर पहिलोपटक लुम्बिनी प्रदेशमा प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता आयोजना गरेर नयाँ इतिहास रचिएको बताए । प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोलीको सहभागिता रहनेछ । प्रधानमन्त्री कपलाई नेपाली क्रिकेटमा नयाँ खेलाडी उत्पादन गर्ने उत्कृष्ट मञ्चका रूपमा हेरिन्छ ।
देउखुरी क्रिकेट मैदानमा सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशबीच खेल भइरहेको छ ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस