कपिलवस्तु,२९ असार । काठमाण्डौबाट दाङ जाँदै गरेको बस दुर्घटना भएको छ्। कपिलवस्तुको बुद्धभुमी नगरपालिका–९ वेलनदीमा आइतबार बिहान दुर्घटना हुँदा २६ जना यात्रु घाइते भएका छन्। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
लुम्बिनी प्रदेश ०२–००१ ख ००४५ नम्बरको बस पूर्व–पश्चिम राजमार्गमा अनियन्त्रित भई सडकको दायाँ साइडमा पल्टिएको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेले जनाएको छ। बिहान करिब ४ बजेतिर भएको दुर्घटनापछि प्रहरी र ट्राफिकको टोलीले तुरुन्तै घटनास्थलमा पुगेर घाइतेहरूको उद्धार गरी उपचारका लागि अस्पताल पठाएको थियो।
तीन गम्भीर घाइतेहरूलाई बुटवल रिफर गरिएको छ। रिफर गरिनेमा सल्यान बागचौर नगरपालिका–१० का ७७ वर्षीय देवी बुढाथोकी, सल्यान सारदा नगरपालिका–१२ का ५६ वर्षीय मोहनलाल बुढाथोकी, र दाङ तुलसीपुर उपमहानगरपालिका–११ का ३५ वर्षीय श्रीधर अधिकारी छन्।
अन्य घाइतेहरूको चन्द्रौटास्थित सञ्जीवनी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ। घाइतेहरूमा रुकुम पश्चिम आठबिसकोट नगरपालिका–८ का २८ वर्षीय मोतीलाल ऐरी, सोलुखुम्बु सोताङ गाउँपालिका–३ का २१ वर्षीय कोसिस गौतम, सल्यान सिद्ध कुमाख गाउँपालिका–२ की १९ वर्षीया अनिता चलाउने रहेका छन् ।
यसैगरी, दाङ घोराही उपमहानगरपालिका–१८ की ५२ वर्षीया सचिला नेपाली, अर्घाखाँची सितगंगा नगरपालिका–८ की ६० वर्षीया टुककुमारी श्रेष्ठ, सल्यान बागचौर नगरपालिका–१० का २५ वर्षीय चित्र प्रसाद धिताल र रोल्पा परिवर्तन गाउँपालिका–३ का ३१ वर्षीय ओम प्रकाश खड्का छन्।
त्यस्तै घाइते हुने अन्य यात्रुहरूमा दाङ राप्ती गाउँपालिका–४ की २८ वर्षीया रुपा चौधरी, रोल्पा गंगादेव गाउँपालिका–३ का ३९ वर्षीय हेमराज वली, पर्वत मादी गाउँपालिकाका ३९ वर्षीय खड्क बहादुर पुन, सल्यान छत्रेश्वरी गाउँपालिका–१ का ४३ वर्षीय भीम बहादुर बिक, बागचौर नगरपालिका–४ का ४० वर्षीय इन्द्र बहादुर बिक रहेका छन् ।
यस्तै , तुलसीपुर उपमहानगरपालिका–११ का २१ वर्षीय ललित शर्मा, गंगादेव गाउँपालिका–३ का ३१ वर्षीय सन्दीप वली, डडेलधुरा आलीताल गाउँपालिका–४ का २२ वर्षीय विशाल बोहरा, दाङ दंगिशरण गाउँपालिका–२ की २४ वर्षीया शर्मिला नेपाली, छत्रेश्वरी गाउँपालिका–३ की ४२ वर्षीया रश्मि बोहरा र घोराही उपमहानगरपालिका–११ का ३९ वर्षीय वेद बहादुर वली रहेका छन्।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी डीएसपी मोहनमणि अधिकारीका अनुसार दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ। बसचालक भने सामान्य घाइते अवस्थामा उपचाररत छन्।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस