after_navbar

रारा डायरी: “दाङदेखि रारा, मुर्माटपसम्मको यात्रा”


चैत १५, २०८२


राराबाट मुर्माटपको रोमाञ्चक यात्रा
साँझपख हामीले मुर्माटपमा बास बस्ने निर्णय गर्यौं। तालको दक्षिण किनार हुँदै पश्चिमतर्फ लाग्यौं। करिब १ घण्टाको हिँडाइपछि रारा लेकसाइड रिसोर्ट (रारा इको रिसोर्ट) पुग्यौं। त्यहाँ चिया–नास्ता गरेर झोलाहरू घोडामार्फत पठाइयो र हामी पदयात्रा गर्दै अगाडि बढ्यौं।
साँझ करिब ६ बजे सुरु भएको यात्रा बिस्तारै अँध्यारोमा परिणत भयो। जंगलको बीचबाट जाने बाटो, कतै पातलो बस्ती, मोबाइलको मधुरो फ्ल्यासलाइटको उज्यालो—सबै कुरा एकदमै रोमाञ्चक तर डर लाग्दो पनि थियो। स्याल कराएको आवाज, कतै हिउँ जमेर चिप्लो भएको बाटो, उकालो–ओरालो पार गर्दै करिब ९ बजे हामी मुर्माटप नजिकको रिसोर्टमा पुग्यौं (करिब ३८०० मिटर उचाइ)।
त्यहाँ तातो पानीले स्वागत गरियो। केही बेरपछि मार्सीको भात, सिमीको दाल र सागको तरकारीसहितको स्वादिलो खाना खायौं। खाना खाएपछि केही बेर राराको रात्री दृश्य हेरेर सुत्यौं।
मुर्माटपको त्यो कठोर  रात:-
मुर्माटप मा बिताएको रात निकै कठिन रह्यो। करिब ४००० मिटर उचाइमा भएको कारण सास फेर्न अलि गाह्रो भयो, चिसो झन् सहनै नसक्ने खालको थियो। रातभरि हावाको सुइँसुइँ आवाज र चिसोले राम्ररी निद्रा पनि परेन।
तेस्रो दिन: मुर्माटपबाट सुन्दर बिहान र अद्भुत दृश्य:-
बिहान उठ्दा झन् अचम्म लाग्यो—बाहिर राखिएको पानी सबै जमेर बरफ भइसकेको थियो। हात धुन त परै जाओस्, अनुहार धुन पनि सम्भव थिएन। चिसोले शरीर कडा भएको महसुस भइरहेको थियो। त्यो बिहानले जीवनमा पहिलो पटक यति कठोर हिमाली चिसोको वास्तविक अनुभव गरायो।
तर यति कठिनाइका बीच पनि जब वरिपरि हेरेँ—हिउँले छोएका डाँडाहरू, चिसो हावासँगै सुनौलो घाम उदाउँदै गरेको दृश्य अनि त्यहाँबाट रारा ताल हेर्दा हल्का जमेको जस्तो देखिने मनमोहक दृश्य देखियो। उदाउँदै गरेको घामले ताल झन् सुन्दर देखिन्थ्यो।
त्यसपछि हामी उकालो चढेर करिब ४००० मिटर उचाइमा रहेको रेडियो नेपाल एफएम रिले स्टेशन मुर्माटप पुग्यौं। त्यहाँबाट हेर्दा रारा तालले मनलाई यहीँ बस्न भनिरहेको जस्तो लाग्थ्यो। टाढा देखिने सैपाल हिमाल लगायत अन्य हिमश्रृंखलाको दृश्यले मन मोहित बनायो।
रारामा रमाइलो र फर्कने यात्रा:-
मुर्माटपबाट फर्केर रिसोर्टमा चिया पिएपछि हामी रारा ताल मा डुंगा सयर गर्यौं। करिब ४५ मिनेटको यात्रामा तालको बीचबाट वारपार गर्दा स्वच्छ र निर्मल पानीको सौन्दर्यले मन लोभ्यायो।
केही समय घोडा चढ्यौं, घुम्यौं, फोटो खिच्यौं र त्यसपछि फर्किने निर्णय गर्यौं। फर्किने क्रममा जुम्लाको तातोपानी मा बेलुकाको खाना खायौं र सदरमुकाम खलंगामा बास बस्यौं।
चौथो दिन: जुम्लाबाट सुर्खेत:-
बिहान उठेर जुम्लाको चन्दननाथ मन्दिरको दर्शन गर्यौं। बजार घुमेर फर्किंदै दैलेखमा पेट्रोलियम उत्खनन भइरहेको स्थान अवलोकन गर्यौं। त्यसपछि ज्वालामाई मन्दिर को दर्शन गरी सुर्खेत फर्कियौं।
पाँचौं दिन: सुर्खेत घुमघाम र घर फर्किने यात्रा
अन्तिम दिन सुर्खेतका प्रमुख धार्मिक तथा पर्यटकीय स्थलहरू देउती बजै मन्दिर, लाटीकोइली मन्दिर, बुलबुले ताल, काक्रेविहार अवलोकन गरियो। दिउँसो खाना खाएर मनमा अविस्मरणीय सम्झनाहरू बोकेर घरतर्फ फर्कियौं।


निष्कर्ष
यो यात्रा केवल दाङदेखि रारा पुग्ने यात्रा मात्र होइन, प्रकृतिसँगको गहिरो सम्बन्ध, साहस, चुनौती र आनन्दको संगम थियो। मुर्माटप को कठोर चिसोदेखि रारा ताल को शान्त सौन्दर्यसम्म – हरेक क्षण जीवनभर सम्झन लायक बन्यो।
यस यात्राले एउटा कुरा सिकायो—जीवनको वास्तविक आनन्द सुविधा होइन, अनुभवमा लुकेको हुन्छ। कहिलेकाहीँ कठिन बाटो हिँड्नुपर्छ, तर त्यही बाटोले सबैभन्दा सुन्दर गन्तव्य देखाउँछ।

प्रतिक्रिया दिनुहोस

data-href="