after_navbar

दाङका विद्यालय दुई दिन बन्द


१ घण्टा अगाडि


दाङ। मौसमको प्रतिकूल अवस्थालाई मध्यनजर गर्दै दाङका शैक्षिक संस्था दुई दिन बन्द हुने भएका छन्। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले दाङसहित देशका अधिकांश स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको जनाएको छ।

अति भारी वर्षाका कारण हुन सक्ने सम्भावित विपद्को जोखिमलाई मध्यनजर गर्दै तुलसीपुर र घोराही उपमहानगरपालिका क्षेत्रका विद्यालय २०८३ असोज ८ र ९ गते दुई दिन बन्द हुने भएका हुन्।

शिक्षा तथा खेलकुद मन्त्रालय, सिंहदरबार, काठमाडौंले २०८३ असोज ७ गते जारी गरेको सार्वजनिक सूचना तथा आह्वानअनुसार विद्यार्थी, बालबालिका, शिक्षक तथा कर्मचारीको सुरक्षा सुनिश्चित गर्न विद्यालय बन्द गर्ने निर्णय गरिएको हो।

मन्त्रालयले नेपालका विभिन्न भू–भागमा भारीदेखि अति भारी वर्षा तथा उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात हुन सक्ने जनाएको छ। वर्षाका कारण सडक अवरोध हुनुका साथै विद्युत् तथा सञ्चार सेवामा समेत असर पर्न सक्ने भएकाले पूर्वतयारीसहित उच्च सतर्कता अपनाउन मन्त्रालयले आग्रह गरेको छ।

सोही सूचनाका आधारमा तुलसीपुर र घोराही उपमहानगरपालिकाका शिक्षा महाशाखाले सम्बन्धित विद्यालयलाई असोज ८ र ९ गते पठनपाठन बन्द गर्न सूचना जारी गरेका छन्।

सम्भावित विपद्को जोखिमलाई ध्यानमा राख्दै वर्षा सुरु हुनुअघि नै आवश्यक सतर्कता तथा पूर्वतयारी अपनाउन विद्यालय बन्द गर्ने निर्णय गरिएको स्थानीय तहले जनाएका छन्।

विद्यालय दुई दिन बन्द भएपछि शनिबार र आइतबार सार्वजनिक बिदा परेकाले शैक्षिक संस्था लगातार चार दिन बन्द हुने भएका छन्। विद्यालयहरू असोज १२ गतेदेखि नियमित रूपमा सञ्चालनमा आउने जनाइएको छ।

मन्त्रालयले सम्बन्धित स्थानीय तह तथा विद्यालयलाई सूचना कार्यान्वयन गर्दै विद्यार्थी, शिक्षक तथा कर्मचारीको सुरक्षा सुनिश्चित गर्न र सम्भावित विपद्को अवस्थाबारे निरन्तर अनुगमन तथा आवश्यक समन्वय गर्न आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस

data-href="