after_navbar

आज लक्ष्मीपूजा:घरघरमा धनधान्यकी देवीको आराधना गरिँदै


१२ घण्टा अगाडि


दाङ । तिहारको तेस्रो दिन आज बेलुका घरघरमा धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गरिँदैछ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार तिथिको घटबढका कारण यस वर्ष कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन परेको छ । कुकुर तिहार यमपञ्चकको दोस्रो दिन पर्ने भए पनि यस वर्ष तेस्रो दिन बिहान परेको समितिले जनाएको छ ।

कात्तिक कृष्ण औँसीको रातलाई ‘सुखरात्रि’ भनिन्छ । यस दिन सन्ध्याकालमा घरआँगन झिलीमिली बनाएर लक्ष्मीको स्वागत तथा आराधना गर्ने परम्परा छ । सफासुग्घर घरमा लक्ष्मीको बास हुने विश्वासका साथ बिहानैदेखि घरका झ्याल, ढोका, सङ्घार, कोठा र कौसी सफा गरी फूलमालाले सजाइन्छ ।

बेलुका आँगनदेखि पूजा कोठासम्म गाईको गोबर र रातोमाटोले लिपपोत गरी चामलको पीठो र अबीरले लक्ष्मीको पाइला बनाइन्छ । पाइलैपिच्छे केराको सुत्लो वा माटोको पालामा बत्ती बालेर घर झिलीमिली बनाउने चलन छ । दिनभर उपवास बसेर सन्ध्याकालमा स्नान गरी धनलक्ष्मी, विद्यालक्ष्मी र ऐश्वर्यलक्ष्मीलगायतको आराधना गरिन्छ ।

आज सूर्यास्तपछि बेलुका ६ बजेर ५२ मिनेटसम्मको समय लक्ष्मीपूजाका लागि शुभ मानिएको छ । पूजामा कलश, धूप, दीप, फूल, अक्षता, फलफूल, मिठाई, धान, सिक्का, नयाँ नोट, पान, सुपारी र रङ्गोली प्रयोग गरिन्छ । दियो, कलश र गणेशको पूजा गरेपछि लक्ष्मी स्थापना गरी गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाएर विधिपूर्वक पूजा गरिन्छ ।

लक्ष्मीको पूजा, आरती, दीपदान र मन्त्र उच्चारणपछि परिवारका सदस्यले फलफूल तथा मिठाई प्रसादका रूपमा ग्रहण गर्ने चलन छ । आज राति भैलो खेल्ने परम्परा पनि रहेको छ ।

भोलि गाईपूजा, पर्सि २४ गते गोवर्धन पूजा, गोरुपूजा, बलिपूजा, हलितिहार तथा म्हपूजा मनाइनेछ । २४ गतेदेखि नेपाल संवत् ११४७ सुरु हुनेछ । यमपञ्चकको अन्तिम दिन २५ गते बुधबार यमद्वितीया अर्थात् भाइटीका मनाइनेछ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार भाइटीकाका लागि बिहान ११ बजेर ७ मिनेटको साइत उत्तम रहेको छ ।

प्रतिक्रिया दिनुहोस

data-href="