after_navbar

फागुनभित्र स्थानीय तहको निर्वाचन गर्ने आयोगको तयारी


१२ घण्टा अगाडि


काठमाडौ । निर्वाचन आयोगले आगामी फागुनभित्र स्थानीय तहको निर्वाचन गर्ने गरी तयारी अघि बढाएको छ । कानुनी व्यवस्थाअनुसार बहालवाला जनप्रतिनिधिको कार्यकाल सकिनुभन्दा दुई महिनाअघि नै निर्वाचन सम्पन्न गर्नुपर्ने भएकाले आयोगले गृहकार्य थालेको हो ।

यसअघि २०७९ वैशाख ३० गते स्थानीय तहको निर्वाचन भएको थियो । स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ४ अनुसार आयोगको परामर्शमा सरकारले निर्वाचनको मिति तोक्ने व्यवस्था छ ।

प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले निर्वाचनका लागि आवश्यक स्रोतसाधनलगायत विषयमा अध्ययन भइरहेको बताए । आयोगले आन्तरिक परिस्थिति, स्रोतसाधन र अन्य आवश्यक विषयको अध्ययन गरिरहेको उनको भनाइ छ ।

निर्वाचनको तयारीका क्रममा आयोगले सरकार र राजनीतिक दलहरूसँग छलफलसमेत गरिरहेको छ । आवश्यकताअनुसार थप छलफललाई निरन्तरता दिने आयोगको तयारी छ ।

६ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका र ४६० गाउँपालिका गरी देशभरका ७५३ स्थानीय तहमा निर्वाचन हुनेछ । आगामी वैशाख ३० गते अहिलेका जनप्रतिनिधिको कार्यकाल सकिने भएकाले त्यसको दुई महिनाअघि निर्वाचन सम्पन्न गरी नयाँ प्रतिनिधिलाई जिम्मेवारी हस्तान्तरण गर्ने तयारी भइरहेको आयोगका एक आयुक्तले बताए ।

आयोगले गत असोज मसान्तमा मतदाता नामावली अद्यावधिक गरिसकेको छ । मृत्यु भएका तथा नागरिकता त्यागेका नागरिकको नाम हटाएर विवरण अद्यावधिक गरिएको हो । आयोगका एक अधिकारीका अनुसार असोजमा अद्यावधिक गरिएको मतदाता नामावली नै फागुनसम्म हुने निर्वाचनका लागि अन्तिम नामावली हुनेछ ।

२०७९ मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन एकैपटक भएको थियो । २०८२ भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि प्रतिनिधिसभाको निर्वाचन गत फागुन २१ गते सम्पन्न भइसकेको छ । अब करिब १४ महिनापछि प्रदेशसभाको कार्यकाल सकिने भए पनि आयोगले त्यसतर्फ ध्यान नदिएको एक आयुक्तले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस

data-href="