after_navbar

नालामा डुबेर दुई बालकको मृत्यु


१० घण्टा अगाडि


सल्यान । सल्यानमा नालामा जमेको पानीमा डुबेर दुई बालकको मृत्यु भएको छ ।

कालीमाटी गाउँपालिका-७ घुँईयाबारीका आठ वर्षीय योगेश बुढा र आठ वर्षीय अंकित बुढा शुक्रबार बेलुकी बबई नदी किनारको सानो नालामा जमेको पानीमा डुबेको अवस्थामा फेला परेका थिए ।

जिल्ला प्रहरी प्रमुख डीएसपी दीपक पातलीका अनुसार अचेत अवस्थामा रहेका दुवै बालकलाई बेलुकी ७ बजेतिर उद्धार गरी स्थानीय मेडिकलमा पुर्‍याइएको थियो । स्वास्थ्यकर्मीले जाँचपछि बेलुकी पौने ८ बजे दुवैलाई मृत घोषणा गरेका थिए ।

दुवै बालक बेलुका खेल्दै नालातर्फ पुगेको र पानी भरिएको नालामा पसेको हुन सक्ने प्रहरीको अनुमान छ । अबेरसम्म घर नफर्किएपछि परिवारले खोजी सुरु गरेका थिए ।

जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक देवराज भट्टराईका अनुसार योगेश स्थानीय वीरेन्द्रकुमार बिसीका छोरा हुन् भने अंकित शशी बुढाका छोरा हुन् ।

तिहारको पूर्वसन्ध्यामा दुई बालकको मृत्यु भएपछि परिवार तथा आफन्त शोकमा छन् । प्रहरी चौकी घुँईयाबारीका प्रहरी सहायक निरीक्षक प्रेमबहादुर थापाका अनुसार दुवैको शव स्थानीय मेडिकलमा राखिएको छ ।

इलाका प्रहरी कार्यालय लुहामबाट प्रहरी निरीक्षक सोम घर्तीमगरको नेतृत्वमा पाँच जनाको टोली घटनास्थल पुगेको थियो । प्रहरीले शनिबार बिहान घटनास्थलको मुचुल्का तयार पारेको र घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

data-href="