गुल्मी । तीन दिनदेखिको अविरल वर्षाका कारण गुल्मीका तीन मुख्य सडक पहिरोले अवरुद्ध भएका छन्। कालीगण्डकी करिडोर, मदन भण्डारी राजमार्ग र रुद्रवेणी-वामी सडक पहिरोका कारण बन्द भएका हुन्।
जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार कालीगण्डकी गाउँपालिका-२ अर्वेनीको राक्सेमा पहिरो खसेपछि असोज ८ गते रातिदेखि कालीगण्डकी करिडोर अवरुद्ध छ। त्यस्तै, रुरुक्षेत्र गाउँपालिका-१ रुरुको स्यालबिसौनामा पहिरो खसेपछि शुक्रबार रातिदेखि मदन भण्डारी राजमार्ग अवरुद्ध भएको छ।
चन्द्रकोट गाउँपालिका-८ को तल्लोफाँट र वडा नं. ७ को सिस्नेमा पहिरो खसेपछि रुद्रवेणी-वामी सडकसमेत बन्द भएको प्रहरीले जनाएको छ। वर्षा रोकिएपछि सडक खुलाउने काम सुरु गरिने जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक भीमकिरण बोगटीले बताउनुभयो। जिल्लाका अधिकांश ग्रामीण तथा शाखा सडकसमेत अवरुद्ध भएका छन्।
अविरल वर्षासँगै गुल्मीमा बाढी तथा पहिरोको जोखिम बढेको छ। जिल्ला प्रशासन कार्यालयको मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना-०८३ अनुसार जिल्लाका १६४ भन्दा बढी स्थान बाढी तथा पहिरोको उच्च जोखिममा छन्। प्रशासनले स्थानीय तहसँग समन्वय गरी सडक खुलाउने, सुरक्षा निकाय परिचालन गर्ने र उद्धार सामग्रीसहित तयारी अवस्थामा राख्ने काम भइरहेको जनाएको छ।
जिल्ला प्रशासन कार्यालयले रातिको समयमा जिल्लाभर सवारीसाधन सञ्चालनमा रोक लगाएको छ। वर्षाको जोखिमलाई ध्यानमा राख्दै रेसुङ्गा र मुसिकोट नगरपालिका तथा केही गाउँपालिकाले विद्यालयसमेत बन्द गरेका छन्।
कालीगण्डकी नदीको बहाव बढेपछि रिडी बजारको लामाचौपारीका स्थानीयलाई सुरक्षित स्थानमा सारिएको छ। यस्तै, बडिगाड खोला किनारका भुवाचिदी, मजुवा, जोहाङ, उल्लिखोला, चोरकाटे, रुद्रवेणी र रिडी क्षेत्र बाढीको जोखिममा रहेका छन्।
यसैबीच, मुसिकोट नगरपालिका-७ वामीमा सशस्त्र प्रहरीको अस्थायी मनसुन प्रतिकार्य बेस स्थापना गरिएको छ। उक्त बेसले गुल्मीका साथै नजिकैको बागलुङको बडिगाड खोला किनारमा समेत विपद् प्रतिकार्यमा काम गर्ने जनाइएको छ।
प्रतिक्रिया दिनुहोस