after_navbar

लुम्बिनीमा बाढी र पहिरोको जोखिम


असोज १०, २०८३


दाङ। केही दिनदेखि भइरहेको अविरल वर्षाका कारण लुम्बिनी प्रदेशमा बाढी, डुबान र पहिरोको जोखिम बढेको छ। पहाडी क्षेत्रमा पहिरोको जोखिम बढेको छ भने तराईका नदी तथा खोलामा पानीको बहाव बढ्दा बस्ती डुबानको खतरा बढेको हो।

शुक्रबार पश्चिम नेपालका विभिन्न क्षेत्रमा भारी वर्षा भएको छ। पाल्पाको अर्चलेमा पछिल्लो २४ घण्टामा २४५.८ मिलिमिटर, गैंडाकोटमा १८६.६ मिलिमिटर र अर्घाखाँचीमा १६१.४ मिलिमिटर वर्षा मापन भएको जनाइएको छ। भारी वर्षाका कारण पहाडी क्षेत्रमा पहिरो तथा गेग्रान बग्ने र तराईमा बाढी तथा डुबानको जोखिम बढेको छ।

लुम्बिनीमा पहाडदेखि तराईसम्मको भूगोल भएकाले वर्षाजन्य विपद्को जोखिम फरक-फरक देखिएको छ। पाल्पा, अर्घाखाँची र गुल्मीका भिराला क्षेत्रमा पहिरोको जोखिम छ भने दाङ,रूपन्देही, कपिलवस्तु, बाँके र बर्दियाका होचा तथा नदी तटीय क्षेत्रमा बाढी र डुबानको खतरा छ। राप्ती, बबई र तिनाउलगायत नदी तथा खोलाको बहाव बढ्दा आसपासका बस्ती प्रभावित हुनसक्ने जोखिम छ।

यस्तै, कर्णालीमा पहिरो र सडक सम्पर्क विच्छेद तथा सुदूरपश्चिममा पहिरो, नदी कटान र डुबानको जोखिम बढेको छ। तीनै प्रदेशमा वर्षाका कारण सडक आवागमन प्रभावित भएको छ भने केही स्थानीय तहले विद्यालयसमेत बन्द गरेका छन्।

सम्भावित विपद्लाई ध्यानमा राख्दै तीनै प्रदेशका विपद् व्यवस्थापन संयन्त्र सक्रिय पारिएका छन्। सुरक्षा निकायलाई उद्धारका लागि तयारी अवस्थामा राखिएको छ। पश्चिम नेपालमा वर्षा अझै केही दिन कायम रहने पूर्वानुमान रहेकाले नदी किनार, खोलाआसपास, पहिरोको जोखिम भएका क्षेत्र र सडकमा यात्रा गर्दा सतर्कता अपनाउन आग्रह गरिएको छ।

यसैबीच, प्रतिकूल मौसमका कारण सुदूरपश्चिमबाट काठमाडौं र पोखरातर्फ सञ्चालन हुने केही लामो दूरीका रात्रीबस सेवा आइतबारसम्म रोकिएका छन्। कर्णाली प्रदेशमा पनि अन्तरजिल्ला लामो दूरीका सवारीसाधन सञ्चालनमा रोक लगाइएको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस

data-href="