after_navbar

राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा आंशिक रूपमा अवरुद्ध: अफलाइनबाट विवरण दर्ता गर्न सकिने


श्रावण ०६, २०८२


काठमाडौँ ,५ साउन। राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा आंशिक रूपमा अवरुद्ध भएको जनाएको छ। विभागले आइतबारदेखि सेवा अवरुद्ध भएको जानकारी दिँदै मर्मत सम्पन्न नहुञ्जेलसम्म केही सेवा सञ्चालनमा नआउने स्पष्ट पारेको छ।

विभागका सूचना अधिकारी शिवराज सेढाइँका अनुसार राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीको नियमित मर्मत सम्भार तथा क्षमता विस्तार कार्य भइरहेकाले अनलाइनमार्फत उपलब्ध सेवा अवरुद्ध भएको हो।

सेढाइँका अनुसार अनलाइनमार्फत सञ्चालन हुने राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन तथा कार्ड वितरण, विवरण संशोधन, जन्मदर्ता गर्दा प्रदान हुने राष्ट्रिय परिचय नम्बर, सामाजिक सुरक्षा भत्ता लाभग्राहीहरूको नाम दर्ता तथा नवीकरणसम्बन्धी जैविक प्रमाणीकरण सेवा लगायतका कार्यहरू हाल रोकिएका छन्।

यसैबीच, विभागले सार्वजनिक सूचना प्रकाशित गरी सेवा पुनः सुचारु हुनेबित्तिकै जानकारी गराउने जनाएको छ। साथै, अफलाइनमार्फत विवरण सङ्कलन गर्ने व्यवस्था मिलाइएको जानकारी दिँदै सबै राष्ट्रिय परिचयपत्र सेवा इकाइलाई आवश्यक तयारी गर्न निर्देशन दिएको छ।

अफलाइनमार्फत दर्ता गराइएका सेवाग्राहीलाई भने अनलाइन सेवा पुनः सुरु भएपछि राष्ट्रिय परिचय नम्बर एसएमएसमार्फत उपलब्ध गराइने सेढाइँले जानकारी दिएका छन्। विभागले सेवा लिने सर्वसाधारण र सरोकारवालामा आवश्यक सहयोगका लागि आग्रह समेत गरेको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="