काठमाडौं, १० साउन । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले भावनाले मात्र कम्युनिस्ट एकता सम्भव नहुने बताएका छन्।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले कम्युनिस्ट एकता सकारात्मक भए पनि त्यसका लागि सही विचार आवश्यक हुनेमा जोड दिए।
“कम्युनिस्टहरू एकताबद्ध हुनुपर्छ, यो असाध्यै राम्रो कुरा हो। तर, भावनाले मात्रै एकता हुँदैन,” खनालले भने, “सही विचार नभईकन एकता सम्भव छैन।”
उनका अनुसार सही विचार भन्नाले अहिले नेपाल कुन अवस्थाबाट गुज्रिरहेको छ भन्ने गम्भीर मूल्यांकन गर्नु हो। उनले नेपाल अहिले जनवादी क्रान्तिको कालखण्ड पार गरेर समाजवादी क्रान्ति र रूपान्तरणको युगमा प्रवेश गरिसकेको बताए।
खनालले कम्युनिस्टहरूको मार्गदर्शक सिद्धान्त मार्क्सवाद र लेनिनवाद भएको स्पष्ट गर्दै भने, “मार्क्सवाद–लेनिनवाद नै सार्वभौम सिद्धान्त हो। यसको दायाँ वा बायाँ केही पुच्छर जोडिरहनुपर्ने आवश्यकता छैन।”
उनले सबै कम्युनिस्टहरूले समाजवादी रूपान्तरणको युगमा प्रवेश गरिसकेको यथार्थ स्वीकार गर्नुपर्ने धारणा राखे।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस