after_navbar

कैदीबन्दीको कब्जामा कारागारः प्रहरी गेट बाहिरै


श्रावण २६, २०८२



कैलाली, २५ साउन । शुक्रवार मध्यराति कैदीबन्दीबीच भएको झडपपछि कैलाली कारागारको अवस्था अझै सामान्य बनेको छैन। कारागारभित्रको नियन्त्रण अहिले पनि कैदीबन्दीहरूकै हातमा छ भने सुरक्षाकर्मीहरू गेट बाहिरछन्।

झडप भएको केहीबेरपछि सुरक्षाकर्मीले बल प्रयोग गरी मृतकको शव र घाइतेहरूको उद्धार गरेका थिए। तर त्यसयता कैदीबन्दीहरूले भित्रबाट कारागारमा ताला लगाई सुरक्षा फौजलाई प्रवेश गर्न अवरोध गर्दै आएका छन्।

अहिले कारागारभित्र अवस्था देखिने गरी शान्त रहेको भए पनि कैदीबन्दीहरूले सुरक्षाकर्मी र कारागार प्रशासनलाई भित्र जान दिन मानेका छैनन्।

मानव अधिकार आयोग, सुदूरपश्चिम प्रादेशिक कार्यालयको टोलीसँग कैदीबन्दीहरूले स्पष्ट सर्त राखेका छन्— “कैलालीका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमाल र प्रमुख प्रहरी उपरीक्षक बालनरसिंह राणाबाहेक अन्य माथिल्लो तहका प्रतिनिधि नआएसम्म भित्र प्रवेश अनुमति दिइने छैन।”

कैदीबन्दीहरूले कारागारमा लामो समयदेखि असुरक्षित अवस्था, स्वास्थ्य सुविधाको अभाव र दुर्व्यवहारबारे जानकारी दिँदै आए पनि प्रशासनले बेवास्ता गरेको उनीहरूको आरोप छ।

यसअघि साउन १४ गते ५९० जना कैदीबन्दीहरूले संयुक्त ध्यानाकर्षण पत्रमार्फत मानव अधिकार आयोगलाई सुरक्षा माग गरेका थिए। आयोगले सो पत्रलाई प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय, कारागार विभागलगायत निकायमा पठाएर उचित सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिएको थियो। तर, प्रशासनको चासो नदेखिएको भन्दै कैदीहरू आक्रोशित बनेका हुन्।

शुक्रवार रातिको झडपमा एक जनाको मृत्यु भएको छ भने ४७ जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको आईसीयूमा उपचार भइरहेको र एक जनालाई थप उपचारका लागि काठमाडौं पठाइसकिएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ। अर्का एक गम्भीर घाइतेलाई पनि काठमाडौं पठाउने तयारी भइरहेको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="